धरान : मेयर हर्क साम्पाङको कार्यकक्षमा प्रहरीले सञ्चारकर्मी सञ्जिता धमलालाई हातपात गरेको घट्नालाई प्रहरी प्रशासनले गम्भीर रूपमा लिएपछि मेयर समर्थकहरूले धमला विरुद्ध आज आइतबार इलाका प्रहरीमा उजुरी दिदैं नाराबाजी गरेका छन् ।
उनीहरूले शनिवार साँझ पनि इलाका प्रहरी कार्यालय अगाडि नारा जुलुस गर्दै ‘संजिता धमला मुर्दावाद’ ‘हर्क साम्पाङ जिन्दाबाद’ भन्दै नाराबाजी गरेका थिए ।
यसअघि बिहान धरान-१३ स्थित श्रम पार्कमा भेला भएको समर्थकहरूलाई मेयर साम्पाङले हेण्ड माइकबाट सम्बोधन गर्दै धमलाको विरोध गर्न धरानका महिलाहरू जागरूक हुनुपर्ने कुरा बताएका थिए ।
इलाका प्रहरीमा शनिवार साँझको उजुरी लिएर गएको समूहमा भने धरान उपमहानगरपालिकाका कर्मचारीहरू पनि देखिएको सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएको नेकपा माओवादी केन्द्रका धरान इन्चार्ज चोत्लुङले बताएका छन् ।
उनीहरू आइतबार दिउँसो पनि इलाका प्रहरीमा देखिएका थिए । मेयर साम्पाङले सम्बोधन गरेर निर्देशन दिएपछि उपमहानगरपालिकाका ज्यालामा काम गर्ने सफाई कर्मचारीहरु टीका कार्की, पासाङ शेर्पा, मालीहरू सूर्य राई, समला राई, हिना श्रेष्ठ लगायत सर्दु जलाधारमा चौकीदारमा कार्यरत समिता राई लगायत खानेपानी संस्थानमा कार्यरत ज्यालादारी कर्मचारीहरू आन्दोलनमा खटिएका थिए ।
उपमहानगरपालिका मातहतका कर्मचारीहरू देखिनु मेयर साम्पाङको पदको दुरुपयोग भएको माओवादीका युवा नेता चोत्लुङको भनाई छ ।
मेयरको समर्थनमा आन्दोलन गर्दै उपमहानगरपालिकाका ज्यालादारी माली र हेरालु कर्मचारीहरूलाई जबरजस्ती आन्दोलनमा पठाएको संलग्न कर्मचारीहरूले बताएका छन् । एक जनाले भने ‘आन्दोलनमा नगए कामबाट निकाल्ने धम्की पनि दिएको थियो ।’
नाराबाजीमा गएका कर्मचारी नामावली सहित प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईसँग प्रश्न गर्दा उनले आन्दोलनमा कर्मचारी संलग्न भएको बारे आफूलाई थाहा नभएको बताए । अधिकृत राईले उक्त नामहरूका बारेमा सम्बन्धित महाशाखाका प्रमुखहरूलाई स्पष्टीकरण सोध्ने बताए ।
उनले यदि प्रहरी कार्यालयमा नाराबाजी गर्न मातहतका कर्मचारी गएको पाएमा कर्मचारी नियमावली ऐन बमोजिम कारबाही गरिने बताए ।
मेयर साम्पाङको विरोधको तारो बनेकी सञ्जिता धमलाले फेसबुकमा मेयर साम्पाङले नगरवासीको करको दुरुपयोग गर्दै आफू विरुद्ध कर्मचारी प्रयोग गरी विरोध गर्न लगाएको आरोप लगाएकी छन् । उनले मेयरले नगरको तलब खुवाएर आफ्नो तारिफ र समर्थन गर्नु कर्मचारी नियुक्ति गरेको हो ? भनी प्रश्न गरेकी छन् ।