धरान : शहरी क्षेत्रमा मात्र नभई पछिल्लो समय पहाडी जिल्लाहरूमा लागुऔषध ओसार पसार बढेको छ । नियन्त्रणका लागि प्रहरी पनि पछि परेको छैन ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका-२ बाट लागुऔषध सहित सोमवार प्रहरीले ४ जना युवालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेहरूमा दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ वर्षीय आश्रेय राई, २५ वर्षीय सिजन राई, वडा २ का २२ वर्षीय प्रदीप राई र वडा ४ का २० वर्षीय मिलन राई छन् ।

खोटाङको रत्नपार्क प्रहरीले उनीहरूलाई दिक्तेल रुपाकोट मझुवागढी-२ बाट पक्राउ गरेको हो । उनीहरूबाट प्रहरीले ट्रमाडोल ५२ क्याप्सुल, डिकोलीक १४ पिस, नाईड्रभेट १ पिस र कोलिबन ३ पिस बरामद गरेको छ ।

त्यसैगरी उदयपुरको त्रियुगा-६ बाट प्रहरीले त्रियुगा-११ का १८ वर्षीय सविन राईलाई नियन्त्रित लागुऔषध सहित पक्राउ गरेको छ ।

स ७ प ५७२० नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी लालपत्ताको प्रहरी टोलीले चेकजाँच गर्दा बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

सोही साँझ प्रहरीले विराटनगर-१७ बाट स्थानिय २५ वर्षीय मोहम्मद सज्जादलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । भारतबाट नेपाल पैदल आउँदै गरेको उनलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सज्जादबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला परेको छ । पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।