इटहरी : २०७२ वैशाख १२ गते भूकम्प आएका बेला भागेका विनायककुमार यादव (चन्द्रशेखर) पक्राउ परेका छन् । चन्द्रशेखरलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार पक्राउ गरेको हो ।
कर्तव्य ज्यान मुद्दाका दोषी ठहरिएका उनी यसअघि पनि दुई पटक जेलबाट भागेका थिए । इनरुवा नगरपालिका १० वलाहाका चन्द्रशेखर सहित १२ जना कैदी २०६९ साल कात्तिक २३ गते राति झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका थिए ।
त्यसपछि सप्तरीको गोबरगाडाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा राखिएको थियो । २०७२ वैशाख १२ गते भूकम्पको बहाना पारेर भागेका उनलाई पक्राउ गर्न प्रहरीले एक राउन्ड गोली चलाएको हो ।
२०६५ साल वैशाख १६ गते सुनसरी साबिक प्रकाशपुर-६ का ३९ वर्षीय केशव कार्कीको चन्द्रशेखर र श्याम भन्ने श्यामकुमार यादवले गोली हानी हत्या गरेका थिए । सो घटनामा संलग्न भएका विनायक एक थान पेस्तोल र ११ राउन्ड गोली सहित पक्राउ परेका थिए ।
जिल्ला अदालत सुनसरीले उनलाई २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो ।