धरान : नेपालमा बहुदलीय प्रजातन्त्र पुनर्बहाली २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको ११०औँ जन्म जयन्ती धरानमा आज शनिवार साँझ उनको शालिकमा दीप प्रज्वलन गर्दै मनाइएको छ ।
धरान-१६ गणेशमान चौक स्थित उनको शालिकमा दीप प्रज्वलन गरी जन्म जयन्ती मनाइएको हो । कार्यक्रम गणेशमान सिंह छात्रवृत्ति तथा राहत कोषद्वारा आयोजना गरिएको हो ।
नेपाली काँग्रेसका नेता स्वर्गीय सिंह राणा शासनको बेला पक्राउ परी कैद गरिएको बेला जेल तोडेर बाहिर भारत निर्वासित भएका थिए । त्यसै बेला देखी उनलाई नेपालको राजनीतिमा ‘लौह पुरुष’ को नामले सम्बोधन गरिन्थ्यो ।
२०४६ सालको आन्दोलन सफल भए लगत्तै गणेशमान सिंहलाई राजा वीरेन्द्रद्वारा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको थियो । सिंहले आफ्नो ठाउँमा काँग्रेस कार्यकारी सभापति कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए ।
उनको जन्म जयन्तीमा दीप प्रज्वलन गर्न काँग्रेस कार्यकर्ताहरू सहभागी थिए । धरान उपमहानगरपालिकामा काँग्रेसका वडा अध्यक्षहरू धरान-१६ का मुरारी भट्टराई, धरान-३ का विद्या शाक्य, धरान-९ का रुपेश आचार्य, धरान-१८ का नरेन्द्र कुमार राई (प्रवीण), क्षेत्र नं. १ क सचिव केशव पुरी, महिला नेतृ निलु गिरी, पञ्चकला राई, धरान-३ का वडा सदस्य मनिष खड्गी लगायतको उपस्थिति थियो ।