देवीदेवतालाई खुसी पार्ने बहनामा धेरै मठमन्दिर र धार्मिक स्थलमा बलि चढाउने प्रचलन छ । तर, इलामको एउटा गाउँमा पशुबध र पशु बलि दिन पाइँदैन । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने लारुम्बाका मठमन्दिरमा मात्रै होइन करिब १५ सय घर परिवारमा समेत पशु बलि दिन पाइँदैन । दश वर्षदेखि यहाँ कसैको चुलोमा माछा मासु पाकेको छैन ।
वडा नम्बर ३ को आधा जति क्षेत्र र ५ नम्बर वडा पूरैलाई नै माछा मासु तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । २०७२ पुस २० गते जिल्ला प्रशासन कार्यालय इलाममा गाउँलाई माछा मासु र मदिरा निषेधित घोषणा गरिएको थियो ।
यहाँ माछा मासु र मदिरा मात्रै होइन सुर्ती, चुरोटसमेत सेवन गर्न निषेध गरिएको स्थानीय माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङ्हाङले बताए । यो क्षेत्रलाई धार्मिक क्षेत्र मानिन्छ । धार्मिक क्षेत्रमा विकृति नफैलियोस् भनेर सबै स्थानीय मिलेर सामाजिक सद्भाव र एकता कायम गरिएको उनले बताए ।
मदिरा पिउने, चुरोट, खैनी, गाँजा, तथा अन्य लागुऔषध प्रयोग गर्ने बढेपछि समाज सुधार गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ । ‘माछा मासु र मदिरा निषेधित क्षेत्र घोषणा गर्दा स्थानीयले ममाथि मुद्दा पनि लगाए,’ उनले भने, ‘मैले पनि समाज सुधार गर्न पाइँदैन र ? भनेँ । जिल्ला प्रशासन कार्यालय इलामले हामीलाई साथ दियो ।’
लारुम्बामा सामाजिक सद्भाव नै कानून हो । लिम्बू-किराँत धर्मगुरु आत्मानन्द लिङ्देन पनि लारुम्बा मै बस्छन् । धर्मगुरु लिङ्देनको स्थायी बसोबास भएको ठाउँ पनि लारुम्बा नै हो । धार्मिक आस्था र विश्वास नै सबैभन्दा ठुलो संविधान भएको यहाँका अगुवाहरू बताउँछन् ।
किराँतीहरूका अनुसार माब भनेको देवता (ईश्वर) र सेबुब भनेको छानेको ठाउँ अर्थात् देवता (ईश्वर)ले छानेको ठाउँ भएको विश्वास गर्छन् । यो ठाउँ करिब दुई दशकअघि नै लारुम्बाबाट माबसेबुबमा रूपान्तर भएको अगुवाहरू बताउँछन् । किरात धर्म मान्नेहरूले माबसेबुबलाई धार्मिक आस्थाको केन्द्रको रूपमा लिने गरेका छन् ।
गुरुको जन्मोत्सव र मङ्सिरे पूर्णिमा तथा वैशाखे पूर्णिमालाई विशेष पर्वका रूपमा मनाइने गरिन्छ । चुनावका बेला नेताहरूले किरात धर्मगुरुसँग आशीर्वादसमेत लिने गरेका छन् । सेलरोटी, पनिर, घ्यु, दही दूध तथा फलफूल खाएर दशैं तिहारलगायत चाडपर्व मनाउने गरिएको योबहाबले बताए ।
विद्यालय तहबाट नै शिक्षा दिएर गाउँ सुधार गरेको उनको दाबी छ । केही लागुऔषध प्रयोग गर्नेहरू भने गाउँमा रहेको उनले सुनाए । लुकीछिपी खानेहरूको सङ्ख्यासमेत भएकाले विद्यालयबाट नै सुधार गर्ने अभियान चलाइएको गरिएको उनले बताए ।
यो किराँतीहरूको बाहुल्यता भएको बस्ती हो । मासु खाएर मन्त्र जप्दा ज्ञान प्राप्त हुँदैन भन्ने बुझाइ पनि यहाँ छ । २०३५ सालमा इभाबबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा गएर बसेपछि लारुम्बा धार्मिक स्थलको रूपमा विकास भएको किराँतीहरू बताउँछन् । किराँत समुदायको धार्मिक ग्रन्थ मुन्धुम अध्ययन स्थलको रूपमा समेत लारुम्बा विकास हुँदै गएको छ ।
यहाँ धार्मिक आचार–संहिता निर्माण गरिएको छ । आचार–संहितामा हिंसा नगर्ने, जीव हत्या गरेर पूजा नगर्ने, छोरी–चेलीको रुपौली–सुनौली नखाने, झुट नबोल्ने र चोरी सिकार नगर्नेलगायत उल्लेख छ ।
लिम्बू भाषामा रुपौली भनेको पैसा र सुनौली भनेको सुन हो । ज्वाइँहरूसँग सुन र पैसा लिँदा छोरी बेचेको भन्ने अर्थ लाग्छ भन्ने भएपछि हामीले त्यो परम्परा हटायौँ,’ योबहाबले भने, । छोरा सरह छोरीलाई अधिकार दिनुपर्छ भनेर पुरानो परम्परा हटाएका हौँ ।’