धरान : नेकपा माओवादी केन्द्रको धरान उपमहानगर अध्यक्ष पदमा ४ जना दाबेदारहरू देखिएका छन् । माओवादीको धरान अधिवेशन मङ्सिरको अन्तिम साता २८ र २९ गते हुने उक्त पार्टीले जनाएको छ ।

पार्टीको महाधिवेशन अघि देशभरि भइरहेको स्थानीय सङ्गठनको अधिवेशनको क्रममा धरान उपमहानगर अधिवेशन हुने मिति तय भएको हो ।

अघिल्लो चुनावी परिणामहरूमा धरानमा कमजोर देखिएको माओवादीको उपमहानगरपालिकामा उपप्रमुख र एक वडाध्यक्षको उपस्थिति छ ।

धरानमा पार्टी कमजोर रहेपनि पटक पटक सङ्घीय सरकारको नेतृत्व माओवादीको हातमा गएकाले कार्यकर्तामा पार्टीको पदप्रति आकर्षण बढेको मानिएको छ ।

सार्वजनिक रूपमा घोषणा नभए पनि धरान उपमहानगर अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी जोडतोडका साथ सुरु भएको पार्टी कार्यकर्ताहरूले बताएका छन् ।

अध्यक्ष पदका दाबेदारहरूमा उद्धव लिम्बु, सिपी बजगाईँ, सन्तोष लिम्बु, भूपाल चाम्लिङ राईले  उम्मेदवारी दिने भएका छन् । अध्यक्षको उम्मेदवारीमा ४ जना दाबेदार देखिए पनि अधिवेशनमा मतदान गर्ने मतदाता सङ्ख्याको भने यकिन अहिले सम्म भएको छैन ।

धरानमा माओवादीको टोल सङ्गठन, वडा इकाईको सम्मेलन भइरहेको छ । वडा इकाईको अधिवेशन सम्पन्न नभए सम्म पार्टी सदस्य कति भन्ने यकिन थाहा नहुने पार्टीका धरान इन्चार्ज चोत्लुङले बताए । उनले भने ‘मङ्सिर २१ गते सम्म वडा सम्मेलन सकिन्छ तब मात्र पार्टी सदस्य र कति मतदाता हुन्छन्, कति प्रतिनिधि आउने थाहा हुनेछ ।’

पार्टी श्रोतका अनुसार अध्यक्षका उम्मेदवारीहरू वडा सम्मेलन, भेला तथा भातृ सङ्गठनहरूको सम्मेलनमा उम्मेदवारीको प्रचारमा जुटेका छन् । अहिले क्रियाशील भएको जस्तो आकाङ्क्षीहरू सधैँ पार्टीमा सक्रिय भएको भए माओवादी धरानमा बलियो हुन्थ्यो तर त्यसो भने नभएको श्रोतको भनाई छ ।

पार्टी भित्रको गुटले पार्टी नै सकिने बेलामा अधिवेशन भने दह्रो लागेको अगुवा कार्यकर्ताहरूको भनाई छ । पदमा पुग्ने स्वार्थले नेतृत्वमा पुगिएला तर पार्टीले भने हार्नु पर्‍यो भने दुर्भाग्य हुने उनीहरू बताउँछन् ।

अध्यक्षको दाबेदार ४ जना देखिए पनि अधिवेशन आउँदा सम्म २ जना मात्र भिड्ने मनस्थितिमा हुनसक्ने देखिएको अगुवा कार्यकर्ता बताउँछन् । अघिल्लो नगर अधिवेशनमा अध्यक्ष पदका उपबिजेता २ जना उद्धव लिम्बु र सिपी बजागाई बिच अन्तिम प्रतिस्पर्धा हुने स्रोतको दाबी छ ।

उद्धव लिम्बु अघिल्लो अधिवेशनमा ५ मतले पराजित भएका थिए । अधिवेशनले मनोज भट्टराई अध्यक्षमा निर्वाचित गरेको थियो । बजागाईले जम्मा २ मत प्राप्त गरेका थिए ।