धरान : कोशी प्रदेशको सार्वजनिक सडकमा गुड्ने सवारी साधनहरूलाई शनिवार देखी टाइम कार्डको नियम लागु गरिएको छ ।
पूर्व पश्चिम राजमार्गको सुन्दरहरैचा सडक खण्ड स्थित गछियामा आज शनिवार एक कार्यक्रम बिच कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्र कुबेर खापुङले बस चालक अशोक टुडुलाई टायम कार्ड हस्तान्तरण गरी टायम कार्ड नियम लागु गरेका हुन ।
काँकडभिट्टा गईरहेको मे १ ख ३२५४ का बस चालक टुडुलाई जिम्मेवार चालक हुनुपर्ने निर्देशन दिदैं डिआइजी खापुङले कार्ड प्रदान गरेका छन् ।
सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको सहकार्यमा प्रदेशका सडकमा गुड्ने सवारी साधनमा टायम कार्ड लागु गरिएको हो ।
तीव्र गतिमा गाडी कुदाउने होडबाजीबाट सडक दुर्घटना बढेकोले न्यूनीकरणका लागि प्रदेशको पूर्व पश्चिम राजमार्गको १५ ठाउँमा टायम कार्डमा लेखिएको समय चेक गरिने छ । गाडी छुटेको ठाउँबाट तोकिएको समयमा चेक गर्ने ठाउँमा पुग्नु पर्ने टाइम कार्डको नियम छ ।
प्रमुख अतिथि डिआइजी खापुङले सडक दुर्घटनाको जोखिम उच्च रहेकाले यसलाई न्यूनीकरण गर्न सबै क्षेत्रको भूमिका हुनुपर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशीका अध्यक्ष सरोज श्रेष्ठले टायम कार्ड सुरु भएपछि सवारी साधनहरूको ओभरटेक गर्ने प्रवृत्ति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । त्यस्ले सडक दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने उनले बताए ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सडक दुर्घटनामा दैनिक ८ जनाको मृत्यु हुने गरेको बताए । नेपालका सडकहरू असुरक्षित रहेको उनको भनाई छ । टाइम कार्ड ट्राफिक प्रहरीले सुरु गरे पनि यातायात व्यवसायी र मजदुरहरूको हितमा रहेको उनले बताए ।
कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेका अनुसार टाइम कार्डको चेक प्वाइन्ट धरानको तीनकुने, काँकडभिट्टा, विराटनगर बसपार्क, बिर्तामोड, तारा बारी, केर्खा, बेलबारी, गछिया, इटहरी कलङ्की चोक, पकली, कोशीकटान र भन्टाबारी रहेका छन् ।
सवारी साधन ती ठाउँमा पुग्दा ट्राफिक प्रहरीले टायम कार्ड चेकजाँच गर्ने गरी क्याडलक तयार गरिएको उनले बताए ।