औजार : आजको औजार दैनिकमा “फौजीबाट जोगिएको धान हात्तीबाट जोगाउनै सकस” शीर्षकको समाचार छापिएको छ । फौजी किराले खाएर यो पटक धानको उत्पादन सोचे जस्तो छैन । मध्यम उत्पादन भएको धानलाई पनि जोगाउन कोशीटप्पु आसपासका बासिन्दालाई सकस छ । बल्ल–बल्ल उत्पादन गरेको धान थन्काउने बेलामा हात्तीले नष्ट गरिदीएपछि सुनसरी, सप्तरी उदयपुरका आरक्ष आसपास बस्ने स्थानीय तनाबमा छन् ।कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएका पाँचवटा हात्तीको समूहले काट्न ठिक्क पारेको र काटेको धान खाने गर्ने गरेको छ । केहिदिन सुनसरीको कोशी गाउँपालिका, बराहक्षेत्र उदयपुरको बेलका नगरपालिकाको क्षेत्रमा किसानले लगाएको धानबालीमा क्षति पुर्याएको छ । हात्तीले पाक्न लागेको भण्डारण गरेको धान खाने देखि आरक्ष आसपासको घर समेत भत्काउने गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “६ लेन सडकमा फेरि विवाद” शीर्षकको समाचार छापिएको छ । कोशी राजमार्गअन्तर्गत जोगवनी–किमाथांका त्रिदेशीय व्यापारिक मार्ग विस्तारमा पुनः विवाद उत्पन्न भएको छ । ६ लेन सडकको मापदण्ड स्थानअनुसार फरक–फरक बनाइएको भन्दै स्थान्ीय विरोधमा उत्रिएका छन् । इटहरीमा एउटा र तरहरा क्षेत्रमा अर्कै मापदण्डमा सडक निर्माण भएको प्रति तीब्र विरोध भएको हो । इटहरी उपमहानगरभित्रैका केही सडक ८२ दशमलव ५ फिट अर्थात ६ लेन निर्माण गरिए पनि इटहरीको मुख्य चोक क्षेत्रमा भने त्यो मापदण्डअनुसार नबनाउन खोजिएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । ठुलोबडा र ठूला व्यापारीको घर परेकै भरमा सडकको चौडाइ घटाउन खोजेको उनीहरुको आरोप छ । त्यस क्रममा नेकपा इटहरीले एक विज्ञप्ति प्रकाशित गर्दै एउटै मापदण्डमा सडक बनाउन आग्रह गरेको छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “क्षमता अभिवृद्धिमा सक्रिय हुँदै महिला सांसद” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ का महिला सांसदलाई कसरी संसदमा प्रभावकारी रुपमा प्रस्तुत हुने र विद्येयकहरुका बारेमा छलफल गर्ने उद्देश्यका साथ बिहीबार विराटनगरमा कार्यशाला सम्पन्न भएको छ । आत्मनिर्भरता अभियानको आयोजनामा भएको कार्यक्रममा १५ जना सांसदको सहभागिता रहेको थियो । आयोजक संस्थाका सदस्य एवं मोरङका पूर्व जिल्ला विकास समितिका सभापति खड्गबहादुर बस्नेतले विद्येयकका शैदान्तिक छलफल, संशोधन प्रस्ताव र समितिको प्रतिवेदनमा कसरी प्रस्तुत हुने र कसरी अघि बढ्ने भन्ने विषयमा कार्याशालामा छलफल भएको जानकारी दिए । कार्याशालाको समापन कार्यक्रममा बोल्दै महिला सांसद जसमाया गजमेरले महिला सांसदको क्षमता अभिवृद्धि र ज्ञान बढाउने हिसाबले कार्यक्रम प्रभावकारी भएको बताउँदै विज्ञहरुसँगको छलफल निरन्तर रुपमा हुन सके उपलब्धि हुने बताए ।