धरान : धरान-१५ स्थित बगरकोट स्थित एभरेष्ट लाइनमा ‘धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ गर्न गीत, सङ्गीत सहित मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शन, जातीय परिकार सहितको महोत्सव आयोजना गरिने भएको छ ।

महोत्सव द नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ ले आयोजना गर्न लागेको हो । वडा १५ का अध्यक्ष नरेश इङवारम प्रमुख अतिथि रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष कृष्ण राईले उक्त जानकारी दिएका हुन । 

महोत्सव पुस ७ गतेदेखि १५ दिन सञ्चालन हुने बताइएको छ । ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक सबै उमेर समूह रमाउने रोटेपिङ, ड्यागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस लगायतका खेल तमासा रहने छन् ।

पत्रकार सम्मेलनमा संयोजक दिपचन्द्र राई (कान्छी)ले महोत्सव अवधिभर कलाकारहरू सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समीर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ) लगायत साङ्गीतिक व्याण्डहरुको प्रस्तुति रहने जानकारी दिए ।

प्रवेश दिउँसो निःशुल्क, अपराह्न ४ बजेपछि कालाकारहरू अनुसार शुल्क ३ सय सम्म हुनसक्ने बताइएको छ ।