धरान : प्रहरीबाट गोली प्रहारको घट्नाले चर्किएको मुक्कुमलुङ पाथीभरामा केबलकार निर्माणको विवादको आन्दोलन वार्ताको टेबुलमा पुगेको छ ।
सरकारले गृह मन्त्रालय मार्फत वार्ता टोली गठन गरी आन्दोलनकारीलाई बोलाएपछि सबैको ध्यान काठमाडौँ केन्द्रित भएको छ ।
पहिलो चरणको आज सोमवार हुने वार्ताले नै सबै कुरा टुङ्गो लगाउने सम्भावना भने छैन । तथापि वार्ताको टेबुलमा अघि बढेपछि समस्याको समाधान तर्फ अघि बढ्ने सम्भावनाको सङ्केत भने देखिएको छ ।
आन्दोलनकारीहरू अहिले पनि लिम्बुवानका सहरहरूको नाका नाका सडकमै छन् । ताप्लेजुङ नाकाबन्दीबाट कोशी प्रदेशको यातायात बन्द रहेको २ दिन भयो ।
यस क्रममा कम्तीमा पनि दुई दर्जन कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू अहिले सम्म छुटेको छैनन् ।
सम्भवतः राज्य पक्षले वार्तामा आन्दोलनकारीले पक्राउ परेकालाई रिहा गर्नुपर्ने सर्त राख्छन् भनेर मुक्त नगरेको हुनसक्छ । आजको वार्ताको पहिलो बुँदा पक्राउ परेकाहरू तत्काल रिहा बन्न सक्छ ।
मुक्कुमलुङ आन्दोलनमा यसअघि समेत ताप्लेजुङमा पक्राउ परेका ७ जना रिहा भएका छैनन् । पक्राउ गरिएकाहरूमा प्रकाश लाबुंङ, नामसाहांग लिम्बू, सन्गेश लिम्बू, सुकबीर लिम्बू, आदीतेय फीयाक, धन कुमार लिम्बू, पदम बेघा, सञ्जय ताजपुरीया छन् ।
दमकमा ३ जना पक्राउ परेका छन् । दाक-१ का पदम बेघा, दमक-२ का धनकुमार योङहाङ र दमक-१ का सुक बहादुर लिम्बु छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
धरानमा ६ जनालाई पक्राउ गरिएको छ । जसपाका नेता सुमन चेम्जोङ सहित धरान-१२ का सरिन घले, धरान १० का विशन राई, धरान-१५ का योगेश तामाङ, धरान-१५ का संदिप लिम्बु, धरान-१५ का दिवस राई पक्राउ परेका छन् ।
सरकार पक्षबाट वार्तामा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको वार्ता टोली र आन्दोलनकारी पक्षबाट संयोजक प्राज्ञ अमर तुम्याहाङ, शङ्कर लिम्बु, राम मादेन र सरस्वता सिंगक लिम्बु सदस्य रहेको टोली वार्तामा बस्दै छन् ।