धरान : नेपाली काँग्रेसले धरानमा सांस्कृतिक कार्यक्रम सहित हिजो बुधवार सोनाम ल्होसार मनाएको छ ।

तामाङ जातिको प्रसिद्ध मौलिक तामाङ सेलो नृत्य, साङ सेरगेम र गीतहरू प्रस्तुत गरियो । कलाकारहरू राम तामाङ, मनोहर श्रेष्ठ र प्रेमजङ्ग क्षेत्रीले  गायन प्रस्तुत गरे । अधिकांश सहभागीहरू तामाङ भेषभूषामा थिए । उनीहरू तामाङ सेलोमा नाचे ।

तामाङ जातिको खाद्य परिकार खाप्स्यो खानपिनको कार्यक्रम सहितको ल्होसारमा प्रमुख अतिथि पूर्व सांसद मीना सुब्बा थिइन् । काँग्रेस प्रदेश महामन्त्री उमेश थापाले काँग्रेसले समुदायको चाडपर्वहरूमा कार्यक्रम गरेर पार्टी र नेतालाई समुदायसँग जोड्ने काम गरेको बताए ।

कोशी प्रदेश सभा सदस्य ममता तामाङले हरेक जातजाति र समुदायको पर्वहरूका अवसरमा गर्ने कार्यक्रमले काँग्रेसलाई समुदायसँग जोडेको बताइन् ।

उक्त अवसरमा तामाङ घेदुङ धरान नगर उपाध्यक्ष सम्फर तामाङ, तामाङ सेवा समाज अध्यक्ष सिताराम वल, तामाङ सङ्घ सुनसरीका सभापति मनोज तामाङले शुभकामना प्रकट गरे ।, 

काँग्रेस सुनसरी-१, क्षेत्रीय सभापति सुजेन्द्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेसका नेता, कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।