धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङलाई उनले वीपी प्रतिष्ठानको ग्रीनबेल्ट आदर्श मार्गमा शिलान्यास गरी निर्माण सुरु गराएको तरकारी बजारको सेड निर्माण कार्य तत्काल रोक्न उच्च अदालत विराटनगरले मङ्गलवार अन्तरिम आदेश जारी गरेको छ ।
वीपी प्रतिष्ठानका रजिष्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाले दिएको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले 'अन्तिम टुङ्गो नलागेसम्म कुनै पनि संरचना निर्माण नगर्नु नगराउनु' भनी अन्तरिम आदेश जारी गरेको हो ।

तरकारी बजारको लागि सेड निर्माण भइरहेको जग्गा कित्ता नम्बर १३ प्रतिष्ठानको नाममा दर्ता रहेको सर्भे नक्सामा देखिएको अदालतको आदेशमा उल्लेख छ ।
उक्त जग्गा निवेदक वीपी प्रतिष्ठानलाई प्रयोग चलनमा अवरोध नगरी यथास्थितिमा राख्न पनि विपक्षीहरूको नाममा अदालतले अन्तरिम आदेश दिएको छ ।
धरान उपमहानगरपालिकाले तरकारी बजारको लागि शिलान्यास गरेको उक्त जग्गा ग्रिनबेल्ट एरिया वा स्थानीय सरकारको क्षेत्राधिकार भित्रको जग्गा हो भन्ने विवादित अवस्थामै भौतिक संरचना निर्माण हुँदा निवेदकलाई असुविधा पर्न जाने आदेशमा उल्लेख छ ।
संरचना निर्माणले पुर्याउने क्षति र स्वास्थ्य क्षेत्रको संवेदनशीलता समेतलाई दृष्टिगत गर्नुपर्ने स्थिति देखिएको आदेशमा उल्लेख छ । प्रतिष्ठानको माग बमोजिम अन्तरिम आदेश जारी गर्न उपयुक्त हुने देखिएको उच्च अदालतको आदेशमा उल्लेख छ ।
उच्च अदालतले मुद्दाका विपक्षी धरान उपमहानगरपालिका, मेयर साम्पाङ र प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ ।