धरान : चलचित्रमा आकर्षक पहिरनको छुट्टै महत्त्व हुन्छ । कलाकारहरूमा त्यसप्रति ध्यानाकर्षण गराउन याक्थुङ चलचित्रकर्मी सङ्घको केन्द्रीय साधारण सभामा सहभागीहरू मध्ये उत्कृष्ट पहिरन लगाएर आउनेलाई पुरस्कृत गरिएको छ ।

धरान-५ टिकटक रिसोर्टमा शनिवार साधारणसभामा हाङ बुद्दीकर्ण खेवाङ लिम्बु राय वनभोज सहित भएको हो । सहभागीहरू मध्ये पुरुषतर्फ सोम सेरेङ र महिलाहरू तर्फबाट जमुना हुक्पा चोङ्वाङ, लीला तुम्बाहाम्फे र पुर्णिमाया लिम्बुको पहिरन उत्कृष्ट चयन भई पुरस्कृत भएको थियो ।

सभाको प्रमुख अतिथि वरिष्ठ कलाकार प्रेम सुब्बा थिए । केन्द्रीय अध्यक्ष नवीन मेन्याङवोको सभापतित्वमा भएका साधारण सभाले केन्द्रीय समितिमा रिक्त रहेको सहकोषाध्यक्ष पदमा नायिका पवित्र तेम्बे लिम्बुलाई सर्वसम्मत चयन गरिएको छ ।

सभामा सचिव उदय  कुरुङबाङले वार्षिक प्रगति विवरण प्रस्तुत गरे । कोषाध्यक्ष तेज मेन्याङवोले आर्थिक प्रतिवेदन पेश गरे ।

सभामा अध्यक्ष नवीन मेन्याङबोले याक्थुङ चलचित्रकर्मी सङ्घ लिम्बु कलाकारहरूको संस्था भएकोले यसलाई जोगाएर राख्न एकता जरुरी भएको बताए । हाल लिम्बु भाषामा बनेको चलचित्रहरूलाई मात्र प्राथमिकता दिने लिम्बु कलाकारहरूकै अर्को संस्था भएपनी भएको बताउँदै उनले भने ‘सबै अटाउने संस्था याक्थुङ चलचित्रकर्मी सङ्घ नै हो ।’

सधारणसभामा भर्खरै सङ्घको धनकुटा शाखा गठन भएको जानकारी गराउँदै अब जिल्लाहरूका शाखाहरूमा गठन गर्ने निर्णय भएको छ । साधारणसभामा लिम्बु कलाकर्मीहरू, काठमाडौँ, ताप्लेजुङ, झापाका सदस्यहरूको पनि उपस्थिति थियो ।

Yakthung chalachitra