धरान : याक्थुङ/लिम्बु भाषा तथा समुदायका संस्कृतिमा आधारित चलचित्रमा संलग्न याक्थुङ चलचित्रकर्मी सङ्घको प्रथम महाधिवेशन धरानमा आयोजना गर्ने तयारी भइरहेको छ । 
देशभरका याक्थुङ चलचित्रकर्मीहरूले २०७८ सालमा याक्थुम चलचित्रकर्मी सङ्घ गठन गरेका थिए । साही सङ्घको प्रथम महाधिवेशन धरानमा हुने जानकारी शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नवीन सुब्बा मेन्याङवोले दिए । 
नेपालमा चलचित्रको इतिहास त्यति लामो छैन । त्यसमा मौलिक याक्थुङ भाषा, संस्कृतिमा चलचित्र निर्माण २०४८ साल देखी हुन थालेको हो । पहिलो याक्थुङ चलचित्र ‘तरेबा’ हो । 
यसअघि नेपाली चलचित्रको इतिहास २०२१ सालमा पहिलो नेपाली चलचित्र ‘आमा’ बनेको थियो । २०४४ सालमा पहिलो पटक आदिवासी जनजाति पहिलो नेवा: चलचित्र ‘सिलु’ बनेको हो । 
अध्यक्ष मेन्याङवोका अनुसार नवीन सुब्बा निर्देशित ‘तरेबा’ले नेपालमा फरक धारका याक्थुङ चलचित्र निर्माणका लागि कोशेढुङ्गा स्थापित गरेपछि धेरै चलचित्र बने र बनिरहेका छन् ।
पछिल्लो समय याक्थुङ भाषाका र याक्थुङ समाज, समुदायको संस्कृति, संस्कारमा आधारित मूलधार र नेपाली भाषामा पनि चलचित्र बन्न थालेका छन् । 
प्रादेशिक भाषा याक्थुङ/लिम्बु चलचित्रहरूका बारेमा चलचित्रकर्माीहरु बिच कला, प्रस्तुति, मौलिकता र प्रयोगका विषयमा विमर्श गर्ने थलोको रूपमा महाधिवेशनलाई सदुपयोग गरिने अध्यक्ष मेन्याङवोले बताए ।
उनका अनुसार महाधिवेशनमा काठमाण्डू, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ दश जिल्लाबाट करिब ४०० चलचित्रकर्मीहरू सहभागी हुनेछन् ।
सहभागीहरू बिच याक्थुङ आपसमा याक्थुङ र नेपाली चलचित्र बिच तादात्म्य स्थापित गर्दै याक्थुङ चलचित्र र नेपाली चलचित्रको प्राविधिक, मौलिक कथावस्तु, पृष्ठभूमिका गुणस्तर उत्कृष्टता साथै चलचित्र बजारका बारेमा अन्तरक्रिया, बहस गरिने बताइएको छ।
यााक्थुङ चलचित्र र चलचित्रकर्मीहरूको वर्तमान र भविष्य विषयक कार्यशाला गोष्ठीले त्यसको दस्तावेजीकरण गर्ने उनले बताए । आउँदो असार २ र ३ गत धरान-१५ स्थित चुम्लुङ हिममा हुने महाधिवेशनमा याक्थुङ चलचित्रकर्मीहरूले नेपालमा निर्माण गरेको चलचित्रको पोष्टर सार्वजनिक गरिने छ ।
महाधिवेशनको अवसरमा वरिष्ठ याक्थुङ चलचित्रकर्मी एवं वरिष्ठ याक्थुङ कलाकार घोषित गर्दै दुई जना वरिष्ठलाई नगद सहित सम्मानपत्र प्रदान गरिने कार्यक्रम रहेको छ । 
उद्घाटन समारोहलाई उत्सवमय बनाउन ५० भन्दा बढी च्याब्रुङ सहित सांस्कृतिक झाकी र अन्य जातीय झाकीहरु सहित र्‍याली प्रदर्शन गरिने छ । चुम्लुङ हिमबाट सुरु भएर भानुचोक, छाताचोक, सिंहदेवी चौक, माछाभौडी र्‍यालीले परिक्रमा गर्नेछ । महाधिवेशनले सङ्घका नयाँ नेतृत्व तथा कार्यसमिति चयन पनि गर्ने छ ।