धरान : याक्थुङ लिम्बू मातृभाषाको चलचित्र क्षेत्रका सर्वोत्कृष्ट कलाकार एवम् चलचित्रहरूलाई याक्थुङ चलचित्रकर्मी सङ्घले विधागत अवार्ड प्रदान गर्ने भएको छ ।

सङ्घद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा अवार्ड वितरण समारोह मङ्सिर १८ गते आयोजना गरिने सङ्घका अध्यक्ष नवीन मेन्याङवोले बताए ।

उनका अनुसार याक्थुङ लिम्बू मातृभाषाका सिने कलाकार तथा चलचित्रलाई नेपालमा पहिलो पटक अवार्ड तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।

समारोहमा अवार्ड वितरण सँगै चलचित्र तर्फ ७ वटा विधा र लघु चलचित्र तर्फ ५ वटा विधामा पुरस्कार प्रदान गरिने छ ।

चलचित्र तर्फ सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नायक, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट चरित्र अभिनेता, सर्वोत्कृष्ट चरित्र अभिनेत्री, पब्लिक चोईस विधामा अवार्ड प्रदान गरिने छ ।

लघु चलचित्र तर्फ उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, पब्लिक चोईस लघु चलचित्र विधामा अवार्ड प्रदान गरिने छ । अवार्डका लागि ८ नियम भित्र रहेका चलचित्र तथा कलाकार चयन गरिने बताइएको छ ।

नियमहरू सर्तहरू अन्तर्गत रही मङ्सिर ५ गतेसम्म फारम र चलचित्र बुझाउनु पर्नेछ । फिचर फिल्मको हकमा दर्ता शुल्क एक हजार, लघु चलचित्रको हक पाँच सय बुझाउनु पर्ने बताइएको छ । आयोजकले निर्धारण गरेको नीति नियम बमोजिम अवार्ड प्रदान हुनेछ ।

फिचर फिल्मको हकमा चलचित्र विकास बोर्डमा दर्ता र सेन्सर पास भएको हुनुपर्नेछ । फिचर फिल्म वा लघु चलचित्र याक्थुङ लिम्बू सांस्कृतिक अथवा मातृभाषामा २०७९ देखी २०८१ भित्रका चलचित्रलाई मात्र अवार्डमा समावेश गरिने छ ।

अवार्ड वितरणमा निर्णायक मण्डलले गरेको निर्णय अन्तिम हुने अध्यक्ष मेन्याङवोले बताए ।

उनले भने ‘याक्थुङ चलचित्रको प्रचार प्रसार, बजारीकरण र चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।’ यसबाट याक्थुङ कला, संस्कृतिको संवर्धन, प्रवर्द्धन र स्थानीय क्षेत्रहरूको पर्यटन विकास गर्ने विश्वास गरिएको छ । समारोहमा नेपालका प्रतिष्ठित कलाकारहरूको सहभागी हुने उनले बताए ।

सङ्घले याक्थुङ चलचित्रकर्मीहरूको हक हितमा मात्र नभएर कलालाई अझ तिखार्दै लैजानका लागी, एक हप्ते चलचित्र निर्माण तथा अभिनय सम्बन्धी कार्यशाला र दुई वर्ष भित्र लगभग दर्जन बढी कार्यक्रम गरेको अध्यक्ष मेयाङबोले जानकारी दिए ।

नेपालका याक्थुङ चलचित्रकर्मीहरू बिच एक आपसमा याक्थुङ चलचित्र र नेपाली चलचित्रको सञ्जाल बनाउँदै याक्थुङ चलचित्रकर्मीहरूले निर्माण गरेको याक्थुङ र नेपाली चलचित्रहरूको स्तर उन्नतिको प्रयास सङ्घले गरिरहेको बताइएको छ ।