विराटनगर : मोरङ क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले फागुन २१ गते हुने चुनावमा आफ्नो मुख्य एजेण्डा मोरङ १ को समग्र विकास र सुशासनसँगै पारदर्शिता र जबाफदेहिता मुख्य एजेण्डा हुने बताएका छन् ।
जनताको पहिलो आवश्यकता विकास निर्माणबाट मात्र उनीहरूले चित्त बुझाउने गरेका छैनन् । पछिल्लो समयमा जनताको मुख्य असन्तुष्टि विकास निर्माण र सरकारी सेवामा हुने भ्रष्टाचार र अनियमितता केन्द्रित छ । त्यसैले विकास र सुशासन भनेर मात्र अब जनताले चित्त बुझाउँदैनन् पारदर्शिता र जबाफदेहिता पनि अनिवार्य भएको उनले बताए ।
उनले भने ‘जनप्रतिनिधि भएर यसअघि काम गर्दाको अनुभवले जनताको भावना नजिक बाट बुझेको छु ।’ अनुभवले आफूलाई थप परिपक्व र जिम्मेवार बनाएको उनको भनाइ छ ।
कठिन समयमा जनताका माझ गरेको अनुभव कोरोना महामारीमा उर्लाबारी नगरपालिकामा जनताको सेवामा खटिँदा भोगेका सङ्घर्ष र चुनौतीहरू आफ्नो लागि स्मरणीय रहेको फागोले बताए ।
त्यस बेला लकडाउन थियो । सङ्क्रमणको जोखिम मोलेर लौरो टेक्दै घर घर पुगेर ३३ सय बढी परिवारलाई खाद्यान्न, औषधि र पोषणयुक्त आहार वितरण गरेको सम्झँदै उनले भने ‘त्यो राजनीतिक प्रचारका लागि थिएन, कर्तव्यको रूपमा गरिएको काम थियो।’
तथापि कोरोना कालमा आफूले तिन दर्जन मुद्दा पनि खेप्नु परेको उनले बताए । फागोले भने ‘त्यसले राजनीतिक रूपमा असर पारे पनि जनताको सेवाबाट मलाई विचलित बनाउन सकेन ।’
उनले आफ्नो कार्यकालका उपलब्धि स्वरूप नगरपालिकाको संरचना निर्माण, वडागत विकास, सार्वजनिक प्रयोजनका लागि जग्गा प्राप्ति, विश्व बैङ्कका कार्यक्रम कार्यान्वयन, इलाका प्रशासन कार्यालय स्थापना तथा ५४ वटा ऐन, कार्यविधि र निर्देशिका निर्माण जनताका सामु रहेको स्पष्ट गरे ।
आगामी दिनमा प्रतिनिधिसभामा पुगेपछि कानुन निर्माणलाई प्राथमिकता दिँदै विधि–विधान सुदृढीकरण, शिक्षा र स्वास्थ्य सुधारको मुद्दामा केन्द्रित हुने फागोको भनाई छ ।
मोरङ १ को आर्थिक गतिविधि विस्तार तथा भौतिक पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै उनले भने ‘उम्मेदवारी पार्टीको निर्णयअनुसार आएकोले अब काँग्रेस पार्टी एकताबद्ध भएर निर्वाचनमा जान्छ ।’
फागोले जित मेरो व्यक्तिगत विषय होइन, यो सामूहिक प्रयासको नतिजा हुने बताउँदै भने, “मनमुटाव र गुटबन्दीले कार्यकर्ता कमजोर बनाउँछ, त्यसैले सल्लाह, समन्वय र सहकार्यकै बाटो रोज्छौँ।”
चुनावी खर्चमा मितव्ययिता अपनाउने बताउँदै फागोले यस पटक तडक भडकभन्दा जनतासँग प्रत्यक्ष संवादमा जोड दिने बताए । राजनीतिमा ढाँट्न जानिएन जिम्मेवारी र इमानदारीका साथ काम गरियो उनी भन्छन् ।
नेपाली काँग्रेस रूपान्तरणको प्रक्रियाबाट नयाँ ऊर्जा र आत्मविश्वाससहित अघि बढिरहेको फागोको भनाई छ । त्यसैले सकारात्मक चुनावी परिणाम ल्याउने बताए । जनताको समस्या समाधान र क्षेत्रको दीर्घकालीन विकास नै आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गर्दै उनले मोरङ १ का मतदाताको विश्वास जित्ने आशा व्यक्त गरे ।