धरान : सुनसरी क्षेत्र १ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज भट्टराईले युवाहरूसँग प्रत्यक्ष संवाद तथा सुझाव सङ्कलन अभियान सुरु गरेका छन् ।
उम्मेदवारी सहित उनले गरेको ‘भूगोल र मन जोड्ने’ सङ्कल्पलाई परिणाममुखी बनाउन युवा, बुद्धिजीवी तथा आम मतदाताबिच सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
युवालाई नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन शुक्रबारदेखि अभियान सुरु गरिएको हो ।
उनले सचेत युवाको विचार, सल्लाह र सुझावकै आधारमा आफ्नो सोच, नीति र योजनालाई परिष्कृत गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भट्टराईले भने,'व्यक्ति आफैँमा पूर्ण हुँदैन । युवाहरूको सोच र दृष्टिकोणले नै मेरो योजना अझ सशक्त र प्रभावकारी बन्छ ।,'
आर्थिक क्षेत्रको विकासलाई मुख्य एजेन्डा बनाउँदै उनले स्वदेशमै स्वरोजगार सिर्जना,स्वदेशी लगानी प्रवर्द्धन, विदेशी लगानी भित्र्याउन नीतिगत सुधार, र युवालाई उद्यमशीलतामा जोड्ने नीतिमा दृढताका साथ काम गर्ने प्रतिबद्धता भट्टराईले जनाएका छन् ।
 कार्यक्रमको संयोजन विद्यार्थी नेता रविन श्रेष्ठले ‘हेल्लो साथी अभियान’ मार्फत युवाहरूबाट सुझाव सङ्कलनका लागि क्युआर स्क्यानमार्फत प्रतिक्रिया पठाउने व्यवस्था मिलाइएको जानकारी दिए । 
श्रेष्ठका अनुसार युवाहरूबाट प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समावेश गरिनेछ ।
हेल्लो साथी अभियान अन्तर्गत अनलाइन मार्फत साथै प्रत्येक दिन साँझमा चोक चोकमा समेत अभियान चलाइने श्रेष्ठले बताए ।