धरान : किरात याक्थुङ चुम्लुङले लिम्बु समुदायलाई नजिक आएकाे चुनावमा चुम्लुङको एजेन्डामा सहमत, अडान लिने, कार्यान्वयन गर्न सघाउने उम्मेदवारलाई पार्टी र जातिभन्दा माथि उठेर मतदान गर्न आव्हान गरेको छ ।
तर, चुम्लुङको एजेन्डामा सहमति नराख्ने, मुद्दामा आधारित आन्दोलन विरोधीलाई भने ‘नो भोट’को आव्हान गरिएको शनिवार चुम्लुङ हिममा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य कर्णविक्रम तुम्बाहाम्फेले बताए ।
‘उनले भने ‘नो भोट’ भनेको चुनाव बहिस्कार भने होइन, हाम्रो एजेन्डाको सम्बोधन नगर्ने उम्मेदवारलाई भोट नदिऊँ भन्ने आव्हान हो ।'
उनले उम्मेदवारहरूको घोषणापत्रमा चुम्लुङको एजेन्डा उल्लेख नभए पनि कतिपय उम्मेदवारहरूले घरदैलो, सार्वजनिक भाषणमा एजेन्डाप्रति सकारात्मक पाइएको पनि उल्लेख गरे । तसर्थ विवेक पुर्‍याएर मताधिकार प्रयोग गर्न आव्हान गरिएको उनको भनाई थियो ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा चुनावको बेला चुम्लुङको मुख्य ३ एजेन्डा निम्न रहेको उल्लेख छ ।
१. सेभ मुक्कुमलुङ (मुक्कुमलुङ संरक्षण/बचाउ) आन्दोलनको समर्थन ।
२. नो केबलकार/मुक्कुमलुङमा केबलकार खारेजीको आन्दोलनको समर्थन र
३. नो कोशी (प्रदेश नं. १ मा कोशी नाम खारेजी आन्दोलनको समर्थन) । 
पत्रकार सम्मेलन चुम्लुङ जिल्ला समितिले आयोजना गरेको हो । जिल्ला अध्यक्ष शिव सुब्बा इश्वोका अनुसार चुम्लुङ केन्द्रीय समितिले आज शनिवार लिम्बुवानको ९ जिल्लामा एकै साथ पत्रकार सम्मेलन आयोजना गरी एजेन्डाप्रति ध्यानाकर्षण गराएको हो ।