धरान : धरान उपमहानगरपालिकाको असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत भएर स्थगित भएको नगर सभा आज देखि फेरी सुरु भएको छ ।

आज धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा ४ वटा विधेयक र २ वटा प्रतिवेदन प्रस्तुत भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा आज अबेर सुरु भएको बैठकमा विधेयक र विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः आह्वान गरिएको छ । नगर सभामा आज आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक, आर्थिक विधेयक प्रस्तुत भयो । यस्तै, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राजश्व परिचालन विधेयक २०७७ प्रस्तुत भएको छ ।

यसै गरी न्यायिक समिति र सार्वजनिक लेखा समितिको प्रतिवेदन पनि प्रस्तुत गरिएको छ । यसै गरी वडा नं १० का सदस्य तथा नगर सभा सदस्य कृष्ण राईकी श्रीमती अन्जु राईको निधनप्रति मौन धारण गर्दै बैठक भोलि ११ बस्ने भन्दै आज स्थगित गरिएको छ ।

यसै गरी आज प्रस्तुत भएका विधेयकको बारेमा भोलि बिहान १० बजे सम्ममा धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खनाललाई आफूलाई लागेको जिज्ञासा र सुझावहरू टिपाउन अनुरोध गरिएको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले बताए ।