पथरी : मोरङको उर्लाबारीवाट विप्लव समूहमा आबद्ध भएको अंशकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्गलवार दिउसो उर्लाबारी ३ मङ्गलबारेबाट नन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए ।

कालिकोट घर भएका उनी उर्लाबारी ३ स्थित उनकी श्रीमतीको घरमा बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । बोहराका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र थ्री नट थ्री ३ राउन्ड गोली,१ थान सकेट बम, इलेक्ट्रिक डेटोनेटर केवल, नेपाल टेलिकमका सात र एन सेलका सिम बरामद गरेको प्रहरीले जनाएको छ ।

बोहरा नेपाल कम्युष्टि पार्टी विप्लव समूहका मोरङ सेक्रेटरी रहेको प्रहरीले दाबी गरेको छ । उनलाई मोरङको मिक्लाजुङ्गमा भएको एक्स्काभेटर आगजनीको घटनाको योजनाकारका रूपमा प्रहरीले लिएको छ ।

मिक्लाजुङ गाउँपालिका १ स्थित रमितेमा माघ ५ गते राती बम विस्फोट गरी ३ वटा एक्स्काभेटर जलाइएको थियो । निर्माणाधीन उर्लाबारी किसान चोक रमिते सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटर बम विस्फोट गराएको थियो ।

बोहरा माथि २०७४ चैत्र ११ गते पथरीशनिश्चरे १ पानी ट्याङ्कीमा सुतली बम राखेको आरोप लागेको थियो भने सुन्दर हरैंचामा २०७६ जेठ १३ गते प्रेसर कुकर बम विस्फोटन गराएको आरोप प्रहरीले लगाएको छ । प्रहरीले बोहरालाई २०७६ माघ १० गते केराबारी गाउँपालिका कार्यालयमा बम विस्फोटको मुख्य अभियुक्त दाबी गरेको छ भने माघ १२ गते केराबारी २ सिंहदेवी को एनसेल टावरमा आगजनी र बम विस्फोटको घटनामा उनको संलग्नता रहेको आशङ्का गरेको छ ।