धरान : मोरङको बूढीगंगा गाउँपालिका-१ खोरैयामा प्रहरीमाथिनै आक्रमण भएको छ । लागूऔषध भण्डार गरेर कारोबार भइरहेको सूचनाको आधारमा लागुऔषध कारोबारीको घरमा छापा हान्न जाँदा प्रहरीमाथिनै आक्रमण भएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीमाथि बिहीबार राति गाउँलेले घेरा हालेर आक्रमण गर्दा तीन प्रहरी घाइते भएका छन् । घाइते हुने प्रहरीहरुमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी छन् ।

प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा सादा पोसाकको टोली सो स्थानमा पुगेको थियो । गाँउलेहरुले शुरुमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेका थिए । पछि थप मद्धतका लागि गएको हतियारसहितको टोली टोलीमाथि पनि आक्रमण भएको एसपी खड्काले जानकारी दिए । गाँउलेहरुले प्रहरीमाथि लाठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिएका थिए ।

घाइतेको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको छ । अरु घाइतेको शरीरका विभिन्न भागमा चोट लागेको छ । आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि टोलीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाई फायर समेत गरेको मोरङका एसपी सन्तोष खड्काले बताए ।

ठूलो संख्यामा परिचालित प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । आक्रमण भएपछि प्रहरीले स्थानीय स्तरमा स्टोर गरेर राखेको भनिएको लागुऔषध भने बरामद गर्न सकेन । प्रहरीले लागुऔषधको अवैध कारोबार गर्नेहरुको पहिचान गरेर खोजी थालिएको जनाएको छ ।