धनकुटा : सल्लेरी साहित्य सङ्गम धनकुटा र राइटर ईन्टरनेशनल (युएसए) को संयुक्त आयोजनामा आयोजित वृहत् अनलाइन गजल प्रतियोगिताको सार्वजनिक नजिता अनुसार ललितपुरका चिरञ्जीवी सिग्देल प्रथम भएका छन् ।

प्रतियोगिताको घोषित नतिजा अनुसार बाराकी सरु बस्नेत द्वितीय, झापाका हरि पराजुली तृतीय घोषित भए । यस्तै, प्रोत्साहन पुरस्कार ओखलढुङ्गाका छिरिङ शेर्पा अविरल र धनकुटाका सूर्य चापागाईँले प्राप्त गरेका छन् । गत मोती जयन्तीको अवसरमा आयोजना गरिने भनिएको प्रतियोगिताको मिति राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनका कारण सारिएको आयोजक संस्था सल्लेरी साहित्य सङ्गमका अध्यक्ष रमेशचन्द्र अधिकारीले जानकारी दिए ।

अग्रज गजलकार पुष्प अधिकारी अञ्जलीको संयोजकत्वमा तीन सदस्यीय निर्णायक समिति गठन भएको थियो । जसमा स्थापित गजलकार मधु पोखरेल र टीका आत्रेय रहेका थिए । नजिताएको घोषणा गर्दै निर्णायक समितिका संयोजक अधिकारीले पछिल्लो समयमा गजल प्रतिको आकर्षण बढ्दै गएको उल्लेख गरे । नजिता सार्वजनिक कार्यक्रममा राइटर ईन्टरनेशनल युएसएका अध्यक्ष अग्रज साहित्यकार गीतकार ज्ञानेन्द्र गदालले शुभकामना तथा आफ्ना रचना प्रस्तुत गरेका थिए ।

सोही अवसरमा चर्चित गायक कुवेर राई, साहित्यकार डीपी परिश्रमी लगायतले अनलाइन मार्फत नै प्रस्तुति दिएका थिए । प्रतियोगितामा नेपाल, अमेरिका, भारत लगायतका गजलकारहरूको सहभागिता थियो । विजेताले नगद सहित जनही दुई हजार मूल्य बराबरका साहित्यिक पुस्तक र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। पुस्तक हाम्रो मझेरी साहित्यिक प्रतिष्ठान भरतपुरले उपलब्ध गराएको छ ।

आयोजक दुवै संस्थाले राष्ट्रकवि माधवप्रसाद घिमिरेको श्रद्धाञ्जली स्वरूप कविता वाचन र गत भानु जयन्तीमा पनि रामायण वाचन प्रतियोगिता समेत आयोजना गरेको राइटर ईन्टरनेशनल (युएसए) उपाध्यक्ष राजेन्द्र गुरागाईले जानकारी दिए । यसैगरी आगामी कात्तिक २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीमा वृहत् कविता प्रतियोगिता आयोजना गरिने जनाइएको छ ।