धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले माग पुरा गर्न २४ घण्टे बीपीलाई अल्टिमेटम दिए पनि सम्बोधन नभए पछि आजदेखि इमर्जेन्सीबाहेकका सम्पुर्ण सेवाहरु छोडेर जुनियर रेसिडेन्टहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले आज देखि कोभिड अस्पतालको सेवामा पनि सहभागी नभई उपकुलपति कार्यालयअघि भेला भएर धर्नामा बसेका छन् । कोभिड उपचारमा खटिएका जेआरहरुलाई गुणस्तरीय खाना, जोखिम भत्ता, व्यवस्थित क्वारेनटिन, कोभिडमा एक जना कन्सल्टेन्टको चौबिसै घण्टा उपस्थिति रहनु पर्ने लगायत विभिन्न माग सोसाइटीले राखेको थियो ।

झण्डै एक महिना अघि प्रस्तुत गरिएको मागबारे एक समिति गठन भएर सहमतिमा हस्ताक्षर पनि भएको थियो । तर, कार्यान्वयन नभएपछि पुनः आफूहरू आन्दोलनमा उत्रिएको बीपीका जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताए । उनका अनुसार आज बिहान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा गौरीशङ्कर शाह सँग बसेर छलफल पनि भएको छ । उपकुलपतिले अस्पताल निर्दैशकलाई जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले गरेको माग पुरा गर्न निर्देशन दिएको पनि उपाध्यक्ष नेपालीले बताए । आफूहरूको माग सम्बोधन नभइन्जेल सम्म आन्दोलन र धर्ना जारी राख्ने उपाध्यक्ष नेपालीले बताए ।

Gyapan-patra 4 Mag-Patra