धरान : कोरोना भाइरसको महामारीले ६ महिनादेखि थन्किएका सार्वजनिक यातायात आजदेखि देशभर नै सञ्चालनमा आएका छन् ।

सरकारले चैत्र ११ गतेदेखि सुरू गरेको लकडाउन साउन ६ मा खुला गरे पनि सार्वजनिक सवारी साधन खुला गरिएको थिएन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै प्रकारका सार्वजनिक यातायात असोज १ गते देखि खुला गर्ने निर्णय गरेसँगै लामो, मध्यम तथा छोटो दूरीका सबै खाले सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् ।

आज विश्वकर्मा पुजा समेत भएकाले ग्यारेज तथा गाडीमा विश्वकर्मा पूजा गरेर गाडी सञ्चालनमा आएका छन् ।

लामो दूरीको गाडी भने आवश्यक मर्मतसम्भार र चेकजाँचपछि मात्रै सञ्चालनमा आउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमार्फत गरिने महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी जानकारी दिए ।

यातायात व्यवसायीले बसपार्कमा सामूहिक रूपमा विश्वकर्मा पूजासमेत गर्दैछन् । कतिपयले भने व्यक्तिगतरूपमा नै पूजा गरेर छोटो तथा मध्यम दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् ।

सवारी साधनमा सिट क्षमताको आधा मात्रै यात्रु रहनु पर्ने व्यवस्था गरिएको छ । त्यसबापत व्यवसायीलाई सामान्य अवस्थाको तुलनामा बढी भाडा लिन पाउने अनुमति दिइएको छ ।

तर, यात्रुले अनिवार्य मास्क लगाउनु पर्ने तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्नेछ । यातायात व्यवसायीले पनि गाडीलाई स्यानिटाइज गर्नुपर्ने तथा ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने नियम लगाइएको छ ।

यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले पनि विज्ञप्ति जारी गर्दै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको छ ।

चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारीसाधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनिएको छ ।