धरान : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विराटनगरले विराटनगरका साढे ८ हजार सर्वसाधारणलाई मास्क वितरण गरेको छ ।

नेकपाले सोमबार मात्रै साढे ३ हजार मास्क वितरण गरेको छ । यसअघि विराटनगरको बसपार्क क्षेत्रबाट गुद्री बजार क्षेत्रमा नेकपाका नेता कार्यकर्ताले मास्क वितरण गरेका थिए । हालसम्म हामीले ८ हजार ५ सय सर्वसाधारणलाई मास्क वितरण गरेको नेकपा विराटनगरका अध्यक्ष सागर थापाले बताए ।

नेकपा विराटनगरका सचिव हेम कार्कीका अनुसार मास्क वितरण बाहेकका अरू अभियान पनि जारी रहेको छ । नेकपा विराटनगर कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा सचेतनामा सक्रियताका साथ लागिरहेको  र नेकपाले होम आइसोलेसनमा बसेकाहरूलाई सहायता प्रदान गर्ने, सडकमा हिडिंरहेका मानिसलाई मास्क वितरण गर्ने, कोरोना सङ्क्रमण  तथा रोकथामको लागि सरकारी निकायलाई सल्लाह सुझाव दिने काम गरिरहेको उनको भनाइ छ ।

यसै गरी नेकपाले विराटनगरको वडा नम्बर ६ का ५० जना सङ्क्रमित र उनका परिवारलाई भेटेर अमृत चिया, चेवनप्रास, बिस्कुट र गेडागुडीको प्याकेज वितरण गरेको छ । 

राहत प्याकेज तथा मास्क खरिदका लागि नेकपा जिल्ला कमिटी सदस्य तथा विराटनगरका व्यवसायी गिरेन्द्र कार्कीले सहयोग  गरेका हुन ।  विराटनगरका १, २, ३, ४, ५, ६, ८, ९, १०, ११, १२, १३, १४ र १७ नम्बर वडाका १ हजार बढी सङ्क्रमितको घरमा पुगेर अवस्थाबारे जानकारी लिने र सहयोग गर्ने गरेको सचिव कार्कीको भनाइ छ ।