झापा : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केहि हप्ता अघि देशभर २५ हजार सक्रिय संक्रमित भए पुन लकडाउन गर्न सिफारिस गरिएको बताएपछि पछिल्ला दिनहरुमा अब फेरी लक डाउन हुने हो कि भन्ने चर्चा र चिन्ता चुलिएको छ ।

तर सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले अब लकडाउन नहुने बरु निषेधाज्ञा जारी हुन सक्ने बताईसके पनि झापामा भने लकडाउनको हल्ला सेलाएको छैन । अनुमानका आधारमा लकडाउन बारे व्यापक हल्ला समेत चलिरहेको छ ।

व्यवसायी फेरि लकडाउन हुन सक्नै भन्दै त्रासमा व्यवसाय गरिरहेका छन् । लामो समयको लकडाउनले चौपट्ट बनाएको मानव जीवन फेरि समस्यामा पर्ने भन्दै लकडाउन बारे चिन्ता सुरु भएको छ । झापामा असोज २६ गतेदेखि लकडाउन हुने भन्ने हल्ला नै सुरु भइसकेको छ ।

यस विषयमा हामीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनासँग बुझ्दा लकडाउन बारे कुनै निर्णय नभएको जानकारी उनले दिएका छन् । उनले बजारको हल्लाको आधारमा लकडाउन नहुने बताए ।

'झापामा अहिल्यैको अवस्थामा लकडाउन गर्नुपर्ने स्थिति छैन', प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले भने  । तर, उच्च सतर्कता अपनाउन जरुरी छ । जिल्लामा लकडाउन गर्ने बारे अहिलेसम्म कुनै निर्णय नगरिएको उनको भनाई छ ।

प्रजिअ तिमिल्सिनाले नजिकिएको चाडबाडमा सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको बताए । उनले जोखिमलाई मध्यनजर गर्दै दसैँ, तिहार र छठसम्मलाई जिल्ला तहमा व्यवस्थापनका लागि निर्णय हुन्छ । चाडबाडमा भिडभाड बढ्ने भएकाले त्यसको लागि मापदण्डसम्म बनाइने छ । उनका अनुसार जिल्लाले केन्द्र सरकारको नीति अनुरूप काम गर्ने भएकाले माथिको निर्देशन अनुसार व्यवस्था गरिने छ ।

चाडबाडमा सबै क्षेत्रको सहयोग र सहकार्यबाट जोखिम कम गर्नुपर्ने प्रजिअको भनाई छ । उनले व्यवसायी, सामाजिक क्षेत्र र सरोकारका क्षेत्रहरूबाट सतर्कता अपनाउन नागरिकलाई आग्रह गरिने बताए ।