धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा स्वास्थ्य उपकरण बिग्रिएको विषयमा नेकपा धरान नगर कमिटीले तत्काल सञ्चालनमा ल्याउन माग गरेको छ ।

आइतबार नेकपाका धरान नगर इन्चार्ज चोत्लङ सहितका नेताहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरी शङ्कर शाहलाई भेटी प्रतिष्ठानमा रहेका कोभिड अस्पतालमा बिग्रिएको ६ बटा भेन्टिलेटर तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छ ।

नयाँ भेन्टिलेटर के कति कारणले सञ्चालनमा आउन नसकेको हो त्यसको पनि छानबिन गर्नुपर्ने, अस्पतालमा रहेको १ सय बटा बेड मध्ये २५ बटा बेडमा मात्र अक्सिजन सहित जडान भएकोमा आइसोलेसनको सम्पूर्ण बेडमा भेन्टिलेटर जडान गर्न र कोभिड अस्पतालमै सिटिस्क्यान लगायतको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

त्यसैगरी कोभिडका बिरामीहरूको खानपान तथा हेरचाहमा लापावार्ही भएकोले यी र यस्ता विषय तुरुन्त सुधार हुनुपर्ने, ओपिडीका कारण अत्यधिक भिडभाड भई सङ्क्रमणको जोखिम बढेकोले अनलाइन टिकेटिङ सिस्टमको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा अस्पताललाई दबाब दिइएको नेकपाका धरान नगर इन्चार्ज चोत्लुङले जानकारी दिएका छन् ।

प्रतिष्ठानमा उपचारको पद्धति तथा त्यहाँ भएको समस्याको समाधानमा पार्टीको तर्फबाट पनि खेलिने भूमिका र प्रतिष्ठानलाई गर्न सकिने सहयोगको बारेमा छलफल गरी सुझाव पनि दिइएको इन्चार्ज चोत्लुङले बताए ।

पार्टीले सरकारले आइसियु र भेन्टिलेटर थप्ने वा प्रतिष्ठानले आफैले गर्न सक्ने काम तथा बिरामीलाई दिइने सेवा तथा कोरोना भाइरस समुदाय तहमा फैलियो भने त्यसले भयावह स्थिति सिर्जना गर्ने र त्यसबाट बच्नका लागी प्रतिष्ठानले चाल्ने कदमहरूको बारेमा पनि सुझाव दिइएको छ ।

सो क्रममा प्रतिष्ठानका निर्देशक डा. गौरी शङ्कर शाह अस्पताल सहायक निर्देशक प्रमोद बराल तथा नेकपाका तर्फबाट नेकपाका धरान नगर इन्चार्ज चोत्लुङ, नगर सचिव सुदर्शन श्रेष्ठ, कार्यालय सदस्य मनोज भट्टराई,सचिवालय सदस्य हिमाल लिम्बु, उद्धव लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

छलफलमा प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर नभएर बिरामीको मृत्यु समेत भएको, बिरामीहरूले अक्सिजन सहितको बेड नपाएको तथा कोभिड अस्पतालमा बिरामीहरूको हेरचाह र खानपानको ब्यस्थापनमा समस्या देखिएपछि पार्टीले चासो लिएको हो ।

छलफलको क्रममा प्रतिष्ठानका निर्देशक डा. गौरी शङ्कर शाहले कोभिड अस्पतालको भेन्टिलेटर तत्काल मर्मत गर्ने सबै बेडहरूमा अक्सिजन जडान गर्ने,नयाँ भेन्टिलेटर सञ्चालन नभएको सम्बन्धमा छानबिन गर्ने र ओपीडिको भिडभाडलाई कम गर्नका निम्ति अनलाईन मार्फत टिकेटिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै कोभिड अस्पतालको बिरामीहरूको खानपानको व्यवस्थापनको सन्दर्भमा भएको कमीकमजोरीहरूप्रति दुख व्यक्त गर्दै तत्काल सुधार गर्ने बताउनुका साथै यस क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेको सङ्ख्यामा बढेमा अस्पतालको पूर्वाधार तथा जनशक्तिले धान्न गाह्रो हुने बताउँदै स्थानीय सरकार प्रदेश सरकारलाई निश्चित समयका लागी लक डाउन लगायतका उपाय अपनाउन समेत अनुरोध गरेका छन् ।