झापा : झापाको कनकाईमा एक युवाको शव फेला परेको छ । कनकाई नगरपालिका वडा नम्बर ३ स्थित एकान्त टोलमा २२ वर्षीय युवकको शव फेला परेको हो ।

मृतकको अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा शव फेला परेको छ । स्थानीय सुरुङा खोला किनारको बाँस घारीमा भेटिएको शव कनकाई ३ का अभिषेक चौधरीको रहेको प्रहरीले जनाएको छ ।

आज बिहान घाँस काट्न जानेहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको सम्भावना भएकाले प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने र थप अनुसन्धान अघि बढाउने जनाएको छ । मङ्गलवार राती ९ बजे साथीहरूसँग हिँडेका चौधरीको बिहान शव भेटिएको थियो ।

प्रहरीले सो घटनामा संलग्न भएको आशङ्कामा ३ जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ ।