बिर्तामोड : बिर्तामोड उद्योग वाणिज्य सङ्घको साधारण सभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

सङ्घका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारण सभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दोसङ्क्रमणको जोखिमलाई मनन गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए ।

सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीका अनुसार गत कात्तिक २८ गते जिल्ला प्रशासन कार्यालयले पत्राचार गरी भिडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेपछि बिहीबार बसेको सङ्घको बैठकले त्यस्तो निर्णय गरेको हो ।

सङ्घको गत असोज ६ गतेको बैठकले मङ्सिर ७ गते साधारण सभा र पुस ७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको सङ्घका महासचिव भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

के छ जिल्ला प्रशासनको पत्रमा ?

मिति २०७७।०७।१४ गते बसेको डीसीसीएमसी (डिस्ट्रिक कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर) बैठकबाट कोभिड-१९को सङ्क्रमण बढ्दो क्रममा रहेकोले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न/गराउन र भीड जम्मा हुने कार्यक्रम, धार्मिक सांस्कृतिक कार्यक्रम, साप्ताहिक, हाट बजार, भेला, छलफल, गोष्ठीको आयोजना नगर्न झापा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलहरू, सरकारी कार्यालयहरू, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ, यातायात व्यवसायी, विभिन्न गैरसरकारी सङ्घ/संस्था लगायत आम झापावासी दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध गर्न निर्णय समेत भएको हुँदा भिडभाड हुने क्रियाकलापहरू हाललाई नगर्न/नगराउन हुन आदेश अनुसार अनुरोध छ ।