लहान : सिराहाको लहानमा झारफुकको बहानामा एक जना युवती बलात्कृत भएकी छिन् ।

मिर्चैया नगरपालिका-१० घर भई हाल लहान नगरपालिका-१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अलि हसनले लहान नगरपालिका-७ की २३ वर्षीया युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

मङ्गलवार दिउँसो ती युवती झारफुक गराउन गएको बेला मौलानाले बलात्कार गरेको पीडितको आफन्तले बताएका छन् । युवतीको बयानका आधारमा मङ्गलवार राति नै हसनलाई प्रहरी ले पक्राउ गरेको छ ।बलात्कारपछि रक्तस्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पीडित युवती र हसनको मङ्गलवार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाइएको छ । ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मङ्गलवार दिउँसो २ बजे तिर आफन्त सहित गएकी किशोरीलाई ढोका थुनेर आधा घण्टापछि निकालेको आफन्तको आरोप छ ।

मौलनाको घरबाट निस्किएपछि हताश देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तस्राव भइरहेको बताएकी थिइन्। त्यसपछि परिवारजन मौलनाको घरमा पुगेर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए । मौलनालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएका छन् ।