धरान : धरानमा घरजग्गाको कारोबार गर्नकालागि टाइसन रियल स्टेट नामक कम्पनीको सुरुवात भएको छ ।

आज एक कार्यक्रमको आयोजना गरी कम्पनीको उद्घाटन गरिएको हो । कम्पनीले मुख्य रूपमा घरजग्गा खरिद बिक्रीको कारोबार गर्नेछ साथमा कम्पनीले एजेन्टहरूलाई समेत रोजगार प्रदान गर्ने बताइएको छ ।

उक्त समयमा बोल्दै कार्यक्रमका टाइसन रियल स्टेट कम्पनीका अध्यक्ष सोनाहाङ्ग राईले नेपाल जस्तो देशमा रियल स्टेट कम्पनीको निकै महत्व रहेको बताए। उनले क्रेता र बिक्रेतालाई भेट गराई राम्रो सम्झौता गराउने जिम्मा कम्पनीको रहेको बताए ।

उनले भने,“हाम्रो देशमा मात्र नभएर संसार भरी नै सदियौँ देखि घरजग्गा बिक्री वितरण भइरहेको छ तर क्रेता र बिक्रेताबिचको प्रत्यक्ष भेट नहुने भएकोले कमिसन खाने समस्याहरू रहेका छन् जसले गर्दा बिक्रेता र क्रेतालाई मार पर्ने गरेको छ ।

यस्ता सबै प्रकारका समस्याहरूलाई न्यूनीकरण गर्दै हामी व्यवस्थित तरीकाले काम गर्छौँ ।” उनका अनुसार यदि कुनै व्यक्तिले घर जग्गा खरिद गर्न लागेको छ तर रकम नपुगेको खण्डमा कम्पनीको माध्यमबाट बैङ्कमा ऋण सम्म लिन सक्ने सुविधा रहेको छ ।

उक्त कम्पनीको उद्घाटन धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै उपप्रमुख भण्डारीले धरानमा पहिलेबाट नै रियलस्टेटसंग सम्बन्धित कामहरू भइरहेको भए पनि संस्थागत रूपमा पहिलो भएको बताउँदै शुभकामना व्यक्त गरिन् ।

उनले व्यक्तिगत रूपमा कार्य गर्दा आइपर्ने समस्याहरू संस्थागत रूपमा नपर्ने भएकोले संस्थागत कार्य व्यवस्थित र सुरक्षित हुने बताइन् । उनले धरानमा संस्थाहरू स्थापना हुनु भनेको धरानको युवाहरू रोजगार हुनु र धरान उपमहानगरपालिकाको राजस्व बढ्नु दुवै भएकोले धरान उपमहानगरपालिकालाई दुवै हातमा लड्डु भएको बताएकी छन् ।

टाइसन रियल स्टेट कम्पनीले नायिका रेखा फागोलाई कम्पनीको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । उक्त समयमा बोल्दै नायिका फागोले सबै मिलेर एक जुट भएर कार्य गरेमा धेरैले रोजगार पाउने र कम्पनीलाई सफल बनाउन सहज हुने बताएकी छन् ।

नेपाल कम्युनिस्ट पार्टी धरान नगर इन्चार्ज अइन्द्र विक्रम बेघा, कम्पनीमा आबद्ध एजेन्ट, कम्पनीको सञ्चालक सदस्य लगायतको उपस्थिति रहेको उक्त उद्घाटन समारोहमा कम्पनीका सञ्चालक सदस्य प्रदीप राईले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन ओसिन थापा मगरले गरेकी थिइन् ।