धरान : प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली काँग्रेसले आज धरानमा बृहत् मोटरसाइकल र्‍याली निकालेर विरोध प्रदर्शन गरेको छ ।

काँग्रेसको पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार नेपाली काँग्रेस धरान उपमहानगर समितिको आयोजनामा धरानमा बृहत् मोटरसाइकल र्‍याली निकालेर विरोध प्रदर्शन गरेको हो ।

धरान-१२ स्थित पब्लिक हाई स्कुलको खेल मैदानबाट सुरु भएको मोटरसाइकल र्‍याली कलेज रोड, मुनाल पथ, राँगाचौक, दुर्गाचौक, कल्याणचौक, न्यूरोड, रत्नचौक, रेलवे, वीपी सुन्दर बजार, वुद्धचौक, धनकुटे रोड, भोटेपुल, बरगाछी, श्यामचौक, आडा लाइन, पिण्डेश्वरीचौक, माछाभौडी, देशीलाईन, भानुचौक, छाताचौक हुँदै उपमहानगरपालिको गेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

काँग्रेसले आज धरान सहित देशभरका ७ सय ५३ स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । विरोध सभामा नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठले कम्युनिस्ट सरकारले जनताको जनमत र भावनाको कदर गर्न नसकेको बताए ।

कम्युनिस्ट सरकारले संविधानको संवैधानिक अङ्गमा रहेर संविधानको नियम पालना गर्नु नसकेको उनको आरोप थियो । केपी ओली सरकारले संविधानलाई कु गरेको उनले बताए ।

कम्युनिस्ट सरकार अलोकतान्त्रिक र प्रतिगामी ढङ्गबाट अघि बढेको बताउँदै नेपाली काँग्रेसले यसको विरुद्धमा घोर भर्त्सना गर्ने उनले बताए । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेर संविधान माथि कु गरेको उनले बताए ।

नेपाली काँग्रेसका पूर्व नगर सचिव सुधीर लिम्बुले प्रधानमन्त्री केपी ओलीले जनताको अभिमतलाई अपमान गरेर प्रतिनिधिसभा भङ्ग गरेको आरोप लगाए । नेकपा सरकारले जनताको विश्वास माथि कुठाराघात गरेको उनले बताए ।

कम्युनिस्ट सरकारले बहुमतको कदर गर्न नसकेको बताउँदै जनताको भावना बुझ्ने पार्टी नेपाली काँग्रेस मात्र भएको उनले दाबी गरे । कम्युनिस्ट सरकारले देशलाई अँध्यारोतिर धकेलेर लाखौँ युवाहरूलाई विदेश जान बाध्य बनाएको उनको भनाई थियो ।

विरोध सभामा नेपाली काँग्रेस सुनसरीका जिल्ला सदस्य प्रेम लकान्द्रीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भागबन्डा र भ्रष्टाचारमा कुरा नमिलेर प्रतिनिधिसभा भङ्ग गरेको बताए । नेकपा सरकारको आन्तरिक झगडाको कारण नेपाली जनताले दुःख पाएको उनको भनाई थियो ।

अब देशलाई विकास तथा समृद्धिको दिशामा पुर्‍याउन नेपाली काँग्रेसले मात्र सक्ने उनले दाबी गरे । नेपाली काँग्रेस सुनसरीकी जिल्ला सदस्य एवं नेतृ निरु गिरी थापाले कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउँदै भागबन्डा र कुर्सीको कारण प्रतिनिधिसभा विघटन गरेको बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हकहितका निम्ति सिन्को समेत भाँच्ने काम नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको कठपुतली बनेको बताइन् । विरोध सभामा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली काँग्रेस धरान उपमहानगरका सभापति समेत रहेका उपमहानगर प्रमुख तिलक, काँग्रेस जिल्ला सचिव सुजेन्द्र गोले तामाङ लगायत भातृसंगठनका नेताहरूको उपस्थिति रहेको थियो भने विरोध सभा कार्यक्रम नेपाली काँग्रेस धरानका सचिव श्याम पोख्रेलले सञ्चालन गरेका थिए ।

काँग्रेसले संसद् विघटनको विरुद्धमा माघ ८ गते ७ सय ५३ स्थानीय तहको ६ हजार ७ सय ४३ वडाहरूमा तेस्रो चरण अन्तर्गतको आन्दोलनको घोषणा गरेको छ ।

NC-1 6