धरान : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओलीको पूरा नाम खड्ग प्रसाद ओली भएको त्यही 'खड्ग'ले संविधान काटेको बताए ।

धरानमा शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्धको विरोध सभामा वरिष्ठ नेता अशोक राईले यस्तो बताएका हुन ।

केपी ओलीले नाम अनुसारको काम गरेको आरोप लगाउँदै नेता राईले प्रधानमन्त्री केपी ओलीले असाधारण काम गरेकोमा गर्व गरेको भन्दै संविधानमा नभएको काम संसद् विघटन गरेर 'असाधारण' काम गरेको बताए ।

ओम्निसंग मिलेर भ्रष्टाचार गरेको, वाईडबडी जस्ता काण्डमा छानबिन ढाकछोप गरेर असाधारण गरेको बताए । यति बेला नेपाली जनतालाई कोरोनाको भ्याक्सिन आवश्यक भएको तर केपी ओली चुनावको कुरामा लागेर काम कुरा एकातिर केपी ओली चुनाव तिर भनेर व्यङ्ग्य पनि गरे ।

उनले भ्रष्टाचारीलाई पोथीले चल्ला कोरले जस्तै कोरलेको आरोप लगाए । छ महिनामा विकास बजेट पचास प्रतिशत खर्च हुनुपर्नेमा तेह्र प्रतिशत मात्र गरेर 'असाधारण' काम गरेको बताए । संविधान मिचेर लोकतन्त्रमाथि धावा बोलेको पनि बताए ।

पाँच वर्षको लागि दिएको बहुमत दुई वर्ष अगाडि चुनाव सारेर माग्ने दुई तिहाइको बहुमत केको लागि भनेर प्रश्न गरे । केपी ओलीले आफू चौसट्ठी प्रतिशतले चुनेको प्रधानमन्त्री भएकोमा गर्व गर्नेले चौसट्ठी प्रतिशतले बनाएको प्रधानमन्त्रीले संसद् भङ्ग गर्न नपाउने प्रावधान रहेको बताए ।

केपी ओलीले अरूको इशारामा संसद् भङ्ग गरेको राईले आरोप लगाए । अन्य राजनीतिक दल चुनावमा जाने कुराको विरोध गर्दै सर्वोच्चको फैसलाले सदर गरे चुनाव जान खोज्नेहरू बच्चालाई दसैँ लागेको जस्तो भएको भन्दै त्यस्ता दलहरू सचेत हुनुपर्ने बताए ।

प्रचण्ड-माधवले छातीमा 'हामी यहाँ छौ' लेखेर सडकमा बसेको प्रति माया लागेर आएको भन्दै जे हुनु थियो त्यही भएको बताए ।

विरोध सभामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य युवराज कार्कीले गणतन्त्र धर्म निरपेक्ष समावेशी सङ्घीयता विरोधी केपी ओली भएको आरोप लगाए । काम गर्न नदिएको भन्ने ओलीले कुन चाही विधेयक रोकिए त ? भनेर प्रश्न गरे ।

यस्तै अर्का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले संविधानको धारामा नभएको प्रावधान प्रयोग गरी केपी ओलीले संसद् विघटन गरेको आरोप लगाए । चेम्जोङले केपी ओली देशी विदेशीले उचालेको भरमा लागिपरेको आरोप लगाए ।

देशिबिदेशीको देशमा चलखेल गरिरहेको बताए । उनले यो संविधान पूर्ण रूपमा स्वीकार नगरेको अवस्था भए पनि विधि तथा कानुन अनुसार संशोधन गर्न चाहेको बताए । सङ्घीयता पहिचानको आधारमा हुने भन्दै हालको सात प्रदेश पहिचानको आधारमा नभएको पनि स्पष्ट पारे ।

सङ्ख्याको कुरा ठुलो नभएको भन्दै सङ्घीयता निर्माणका आधारमा हुने बताए । जसका लागि जनता समाजवादीले वैज्ञानिक सङ्घीयता लिम्बुवान किरात तामसालिङ मधेस चाहेको बताए । उनले यो संविधान समावेशी नभएको भन्दै तेह्र प्रतिशत दलित र आदिवासी जनजाति महिला कुनै पनि तहमा जातीय आधारमा समावेशी नभएको बताए ।

सभामा परशुराम बस्नेतले केपी ओलीले संविधानको धारा ७६ अनुसार संसद् विघटन असंवैधानिक भएको बताए । केपी ओलीले यो संविधान अनुसार संसद् विघटन नगरी २०४७ सालको संविधान सोचेर विघटन गरेको बताए ।

यस्तै जनता समाजवादी प्रदेश १ का सांसद जयराम यादवले केपी ओलीले प्रतिनिधि सभा विघटन गरे पनि जनता समाजवादी पार्टीको तीन जना सांसद नै काफी भएको बताए ।

सभामा केन्द्रीय सदस्य पदम अधिकारीले स्वागत भाषण गरेका थिए भने विरोध सभा गर्नु अघि धरान उपमहानगर समिति कार्यालयमा वरिष्ठ नेता अशोक राई रकम चेम्जोङ लगायतले झन्डोत्तोलन गरेका थिए ।

Jsapa-1