धरान : धरान उपमहानगरका प्रमुख तिलक राईले ज्येष्ठ नागरिक तथा दिदी बहिनीहरूलाई धरानका सबै वडाहरूले वर्षमा एक पटक सम्मान कार्यक्रम गर्नु पर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक तथा दिदिबहिनीहरुलाई नगर प्रमुख, उपप्रमुख र सोही वडाका वडाध्यक्षले सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शुक्रवार धरान वडा नं. ३ ले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख राईले यस्तो बताएका हुन् । मेयर राईले आमा, दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरू समाजको अभिन्न अङ्ग रहेको बताउँदै उनले भने , ‘अब यस्तो कार्यक्रम वडानम्वर ३ ले मात्र हैन धरानका २० वटै वडाले कार्यान्वयनमा ल्याउनुपर्छ ।’

संविधान अनुसार मुलुक सङ्घीय सरकारमा गइसकेको बताउँदै तीन तहको सरकारले आफ्नो आफ्नो वडामा भूमिका र जबाफदेहिता निर्वाह गर्नेक्रममा सबैभन्दा बढी जनताको नजिकको सरकार भनेको स्थानीय सरकार रहेको बताए । ‘तपाइहरूले प्रत्यक्ष निर्वाचित गरेको, आफ्नो घर, गाउँ, टोलको सरकार, स्थानीय सरकार हो ।

जसमा उपमहानगरपालिका र वडाहरू समग्रमा पर्दछ’ उनले भने । वाडानम्वर ३ ले ज्येष्ठ नागरिक तथा समाजमा परिवर्तनका निम्ति सक्रिय रहेका दिदिबहिनीहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको बताउँदै आफ्नो जिम्मेवार, कर्तव्य र भूमिका प्रति वडा कार्यालयलाई उनले धन्यवाद व्यक्त गरे ।

मेयर राईले, ‘धरानका सबै वडालाई वर्षमा एक पटक भए पनि यस्तो कार्यक्रम गर्न आग्रह गरे ।’ ‘उपमहानगरपालिकाको बजेट उपमहानगरपालिकाको कार्यक्रममा ज्येष्ठ नागरिकहरूको पहिचान गरी ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने, ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई उपमहानगरपालिका र वडाको क्षमता अनुसार कार्यक्रम गर्ने, भेटघाट गर्ने, सहयोगी बन्ने, समस्याको समाधान गर्ने उपमहानगरपालिका र वडाको दायित्व भएको पनि बताए ।

नगर प्रमुख राईले नेपाली परम्परा, नेपाली समाज आफूभन्दा अग्रजहरूलाई सम्मान गर्ने, माया प्रेम गर्ने र भातृत्व कायम गर्ने समाजको बनोट रहेको पनि बताए ।

यसै गरी कार्यक्रममा विशेष अतिथि समेत रहेकी धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा माया गर्न सबैले सिक्नुपर्ने बताइन ।

उनले स्थानीय सरकार सञ्चालन ऐनमा ज्येष्ठ नागरिकलाई हेला होचो, ज्येष्ठ नागरिक प्रति दुर्व्यवहार भयो भने उपमहानगरपालिको न्यायिक समितिमा उजुरी गर्न सकिने बताइन् ।

३ नम्बर वडाका वडाध्यक्ष आशाकुमार श्रेष्ठले प्रत्येक वर्ष वडाका ज्येष्ठ नागरिक तथा वडामा अमूल्य योगदान पुर्‍याउँदै आएका महिला दिदिबहिनीहरुलाई सम्मान गर्दै आएको बताए ।

कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले सोही वडा निवासी नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको नेपाली स्टार गायन रियालिटी शोका टप पाँचमा पर्न सफल सन्देश बमजनलाई जिताउन भोटको अपिल पनि गरे ।

गायक बमजनलाई उज्ज्वल भविष्यको कामना गर्दै वडा कार्यालय ५ हजार रुपैयाँ आर्थिक सहयोग पनि गरेको छ ।