धरान : धरान उपमहानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले नगर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले भोलि सोमबार हुने नगर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । यस भन्दा अघि बसेको कार्यपालिकाको बैठकले फागुन १० गते नगर सभा गर्ने प्रस्ताव पारित गरेको थियो ।

नगर सभा प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीको प्रमुख आतिथ्यमा हुने भएको छ ।

सोमबार दिउँसो साढे १ देखि नगर सभा हुनेछ । आइतबार बसेको बैठकमा खानेपानी समस्या समाधान गर्ने विषय उठेको थियो । नगर सभा सम्पन्न भएपछि हप्ता दिनभित्रमै खानेपानी समस्या समाधान गर्ने सहमति भएको छ ।

कार्यपालिका बैठक सुरु हुने बित्तिकै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नगर सभाको तयारीको लागी बैठक बोलाइएको जानकारी दिएका थिए । मेयर राईले नगर सभा कसरी सफल बनाउने भनेर सुझाव मागेपछि वडाध्यक्षहरूले खानेपानीको विषयमा कुरा उठाएका थिए ।

९ नं. वडाका वडाध्यक्ष रत्न कटवालले गत वर्ष नै खानेपानी समस्या समाधान हुन्छ भन्ने बचन दिएर अझै खानेपानी समस्या उस्तै रहेको भन्दै धरान खानेपानी बोर्डमा खानेपानी संस्थानलाई तत्कालै समायोजन गर्न जोडदार माग गरे ।

धरानमा खानेपानी आपूर्ति गर्न नसक्ने आशयको सूचना खानेपानी संस्थानले प्रकाशन गरेपछि पनि खानेपानीको विषय चर्को रूपले कार्यपालिका बैठकमा उठेको हो ।