विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छिन् ।

भारतमा कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवत–जावत बढेपछि मन्त्री राईले आज स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी हुन् ।

भारतमा कोरोना सङ्क्रमण तीव्र रूपमा बढी रहेको अवस्थामा सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाईएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिएका हुन् ।

सामाजिक विकास मन्त्री राईले भनिन्– दैनिक हजारौँको सङ्ख्यामा भारतबाट नेपाल प्रवेश गरेको पाईएको छ, यसलाई तुरुन्त नियन्त्रण होस् ।’ मुख्य नाकाबाट भन्दा चोर बाटो प्रयोग गर्नेहरूलाई नियन्त्रण गर्न मन्त्री राईले निर्देशन दिइन् । उनले भनिन्,‘ मुख्य नाकाबाट मात्र आवाज–जावतको व्यवस्था मिलाउनुहोस् ।’

सशस्त्र प्रहरी वलका एसपी तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको बताए । उनले शंकास्पदहरुको चेकजाँच गरी सम्बन्धी निकायमा जानकारी गराउने गरेको मन्त्री राई समक्ष जानकारी गराए ।

खुल्ला सीमाका कारण आवत–जावतमा कडाइ गर्न समस्या भएको उनले बताए । उनले पहिलेको तुलनामा नियन्त्रण हुँदै गएको बताए ।

Sima-3