धरान : मेयर तिलक राईले धरानलाई शैक्षिक हब, स्वास्थ्य, धार्मिक, सांस्कृतिक पर्यटनको रूपमा अगाडी बढाउन सकिने बताएका छन् ।

मेयर राईले सुनसरी उद्योग वाणिज्य सङ्घको ५८ औँ वार्षिक उत्सव समारोहमा यस्तो बताएका हुन् । ‘आजभोलि हाम्रो धेरै छोराछोरीहरू, नानीबाबुहरू धरानकै स्कुल र कलेजहरूमा पढिरहेका छन् । अहिले धरानमा राम्रो स्थिति बनेको छ ।

तर, एक दशक अगाडीसम्म भारतको दार्जिलिङ, सिक्किम, देहेरादुन, काठमाण्डौं लगायत ठाउँहरूमा अध्ययन गर्न जाने परम्परा थियो । अहिले त्यो परम्परा हराउँदै गएको छ । यो एउटा राम्रो पक्ष पनि हो,’ मेयर राईले भने ।

अबको दिनमा धरानलाई व्यापार व्यवसायले मात्रै अगाडी बढाउन नसकिने बताउँदै मेयर राईले धरानमा उद्योग कम रहेको बताए । औद्योगिक क्षेत्र छ तर, फुल फेजमा चल्न सकेको छैन । उद्योग, व्यापार, व्यवसायको परिभाषित पनि नयाँ ढङ्गले गर्नुपर्नेमा मेयर राईले जोड दिए ।

‘धरानको बजारलाई व्यवस्थित गर्दै घर भाडाको विषयमा पनि छलफल तथा नियमन गर्न आवश्यक छ । मूल्यको हिसाबमा पनि हामीले सहजीकरण गर्ने हो भने धरानको बजार त्यस्तो अवस्थामा छैन । किनभने, क्रय शक्तिको हिसाबले धरानमा राम्रो स्थिति छ ।

त्यसलाई हामीले बुझेर अगाडि बढ्नुपर्छ,’ मेयर राईले भने । धरानमा व्यापारीलाई पनि फाइदा हुने गरी र उपभोक्तालाई पनि फाइदा हुने गरी काम हुन नसकेको मेयर राईको भनाई थियो । मेयर राईले व्यापार व्यवसायीहरूलाई पसलमा आएका ग्राहकहरूलाई निःशुल्क मास्क बाँड्न पनि आग्रह गरे ।

उपमहानगरपालिकाले सहकार्य गरेर मेडिकल (औषधी) पसलहरूसँग छलफल गरेर निःशुल्क मास्क वितरण गर्न आग्रह गरिने बताए । ‘स्वास्थ्य, शिक्षा, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, खेलकुद पर्यटन, साहसिक खेलकुद पर्यटनलाई नाराको रूपमा हरेक पल्ट भन्दै आएका छौँ ।

सुनसरी उद्योग वाणिज्य सङ्घ र स्थानीय सरकारबिच छलफल तथा सहकार्य गरेर अगाडी बढ्नुपर्छ,’ मेयर राईले भने । सुनसरी उद्योग वाणिज्य वाणिज्य सङ्घले आफ्ना कार्यक्रम र गतिविधिहरू, व्यापार व्यवसायी, उपभोक्ता, जिल्लावासी र नगरवासीको हितमा काम गर्न आग्रह गर्दै मेयर राईले शुभकामना व्यक्त गरे ।

उपमेयर मञ्जु भण्डारी सुबेदीले धरान उपमहानगरपालिका र उद्योग वाणिज्य सङ्घको सहकार्यमा धेरै क्रियाकलापहरू गरिएको बताइन् । आगामी दिनमा उद्योग वाणिज्य सङ्घसँग यस्तै सहकार्य हुँदै जाने उपमेयर भण्डारीको भनाई थियो ।

कोरोनाका कारण व्यापार व्यवसायी धरासयी बन्दै गएको अवस्थामा पनि उद्योग वाणिज्य सङ्घले उपमहानगरपालिकालाई सहयोग गरिरहेको उनले बताइन् । वार्षिक उत्सव समारोहका सभापति समेत रहेका सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले वस्तुगत व्यवसायी र उद्योगी व्यवसायीहरू मास्क, सेनिटाईजर, सामाजिक दुरी अनिवार्य पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

अध्यक्ष सापकोटाले व्यक्तिगत केही स्वार्थ नलिई सामाजिक काम गर्न पनि ध्यानाकर्षण गराए । धरानमा बजार अनुगमन गर्दा अधिकांश मानिसहरूले मास्क प्रयोग नगरेको पाइएको उनको भनाई थियो । उपमहानगरपालिकासँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउँदै अध्यक्ष सापकोटाले यस वर्ष उपमहानगरपालिकाले २५ प्रतिशत छुट दिएको पनि उनले जानकारी दिए ।

वार्षिक उत्सव समारोहमा सुनसरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष राजेन्द्र शाह, भूतपूर्व अध्यक्ष गौरीशङ्कर शाह, सुनसरी उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछाने, इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बेस क्याम्प प्रमुख कृष्ण प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।