धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारको माग गर्दै काम छाडेका चिकित्सक र कर्मचारीहरू आज देखि काममा फर्किएका छन् ।

एक साता यता ओपिडी सेवा बन्द गरी आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारी काममा फर्किएका हुन् । तर उनीहरूले आन्दोलनलाई भने यथावतै राखेका छन् ।

सङ्घर्ष समितिका संयोजक डा.एसपी रिमालका अनुसार स्वास्थ्य मन्त्रालय सहित सबै पक्षबाट अनुरोध भएको कारण ओपिडी सहितका सबै सेवाहरू सञ्चालनमा आएको बताएका छन् ।

तर, उपकुलपति सहितका पदाधिकारीहरूको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत् रहने उनले बताए । यसै गरी पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत् रहने बताएको छ ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि गत आइतबार देखि आन्दोलनरत पक्षले इमरजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवाहरू बहिष्कार गरेको थियो ।

सहमतिहरू पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गरी जनाएको छ । ‘ओपिडीलगायतका सेवाहरू पुर्ववत अवस्थामा सञ्चालनमा आइसकेको छ । तर मागहरू पुरा नभएसम्म अन्य आन्दोलन यथावत् रहने बताइएको छ ।

BP-1 BP-2 BP-3