इटहरी : इटहरी १९ भवानीपुरमा अवस्थित फुजीसान सगरमाथा बोर्डिङ स्कुलमा विद्यार्थीले नमुना संसदीय अभ्यास गरेका छन् । तीन दिने प्रशिक्षण कार्यक्रम पश्चात् मङ्गलवार सङ्घीय संसदमा हुने जस्तै गतिविधि विद्यार्थीले प्रस्तुत गरेका हुन् ।
संसदीय मर्यादा र संसदीय प्रणालीबारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले यस्ता गतिविधि सञ्चालनमा ल्याइएको विद्यालयका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल राकेश श्रेष्ठले बताए । सांसदका सरकार र प्रतिपक्षले खेल्नुपर्ने भूमिका देखि सांसदका विभिन्न समयमा सांसदले उठाउने सवालको विषयमा समेत विद्यार्थीलाई प्रशिक्षित गराइएको हो ।
कोशी प्रदेशसभा सदस्य तथा संविधानसभा सदस्य रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीन वटा विधामा उत्कृष्ट घोषित गरियो । उत्कृष्ट वक्तामा प्रतिपक्षी दलका नेता सम्पदा गिरि, उत्कृष्ट सत्तापक्षमा अनुसा राउत र उत्कृष्ट प्रतिपक्षमा अर्चना राई पुरस्कृत भएका छन् ।
तीन दिने कार्यक्रममा विद्यार्थीले संसदमा पालना गर्नुपर्ने नियम र मर्यादालाई गहन रूपमा सिक्ने मौका पाएका छन् । विद्यालयले संसदीय अभ्यासलाई मात्र होइन कृषि, व्यापार, उद्यमका प्रत्येक विषयमा विद्यार्थीलाई आफै सहभागी गराएर गतिविधि गराउने गरेको छ । हाल विद्यालय भित्रै च्याउ खेती, कुखुरा पालन, धान खेती भइरहेको छ जसलाई विद्यार्थी आफैले सहभागी भएर त्यसको नाफा र घाटाको हिसाब गर्नेछन् ।








































































