झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै छन् । प्रधानमन्त्रीबाट हटेपछि ओली मंगलबार पहिलो पटक झापा आउन लागेका हुन ।

ओली यति एयरलाइन्सको उडानबाट आज बिहान १० बजे भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउने र त्यसपछि बिर्तामोडस्थित सिटी सेन्टरको साई प्यालेसमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

भेलामा स्थानीय तह, जिल्ला र केन्द्रीय स्तरको नेता तथा कार्यकर्ताहरूको सहभागिता जनाइएको छ । अध्यक्ष ओली भदौ २७ गते नै झापा आउने कार्यक्रम तय भएको थियो ।

विशेष कारणले दुई दिनलाई कार्यक्रम पछि सारिएको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए। कार्यक्रमका लागि एमाले जिल्ला कार्यसमितिले सम्पूर्ण तयारी पूरा गरिसकेको उनले बताए ।

कार्यक्रममा सहभागीपछि अध्यक्ष ओली मंगलबार दिउँसो २ बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।