धरान : नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत धरान नगर सभापतिका प्रत्याशी उम्मेदवार श्याम पोख्रेलले चार वर्ष एघार महिना बिर्सिने र एक महिना सम्झिने नेतृत्वलाई हैन पाँच वर्ष नै सम्झिने नेतृत्वलाई जिताउन आग्रह गरेका छन् ।

आइतबार धरान वडा नं. १२ स्थित होटल पूर्वीमा आयोजित क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट गर्दै नगर सभापतिका प्रत्याशी उम्मेदवार पोख्रेलले नगर अधिवेशनको पूर्व सन्ध्यामा यस्तो आग्रह गरेका हुन् ।

उनले धरानको २० वटा वडा अधिवेशन मध्ये अधिकांश वडाका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट कार्यक्रम गरिसकेको जानकारी दिँदै अब ४-५ वटा वडाका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट गर्न बाँकी रहेको बताए ।

सभापतिका प्रत्याशी उम्मेदवार पोख्रेलले यो नेतृत्व परिवर्तनको अधिवेशन रहेको बताउँदै पार्टीलाई चलायमान बनाउन आफ्नो प्यानल सक्षम रहेको दाबी गरे । १३ औँ महाधिवेशन पछि धरानको काँग्रेसमा आकर्षण बढेको उनको भनाई छ ।

‘अब पनि सही नेतृत्व आउन सकेन भने कार्यकर्तामा मात्र नभई पार्टीमा समेत ठुलो समस्या निम्तिने उनले बताए । १३ औँ महाधिवेशन पछिका नेतृत्वले गरेका हरेक गतिविधिहरूलाई आफ्नो नेतृत्वले मात्र निरन्तरता दिन सक्ने उनले बताए ।

पोखरेलले १२ औँ महाधिवेशनको नेतृत्वले पार्टी कार्यालय भवन बनाउँछु भनेर चन्दा सङ्कलन गरेर पैसा हिनामिना भएको, अहिलेसम्म फर्छ्यौट नभएको बताए । उनले १३ औँ महाधिवेशनबाट आएको नेतृत्वले हरेक वर्ष हिसाब किताबको अडिट गरी पार्टी कार्यालय भवन पनि निर्माण गर्न सफल भएको बताए । उनले आफ्नो प्यानलका उम्मेद्वारहरु पार्टी, जनताप्रति ईमान्दार र फ्रेस रहेको बताए ।

पोख्रेल प्यानलको उपसभापति पदमा नरेन्द्रकुमार राई (प्रवीण) र सन्तोष लिम्बुको उम्मेदवारी रहेको छ । प्रवीण राई धरान वडा नं. १८ का वडाध्यक्ष हुन् भने सन्तोष लिम्बु वडा नं. ५ का वडाध्यक्ष हुन् । यस्तै सचिवमा हिमाल श्रेष्ठ र जितेन्द्र राई उम्मेदवार रहेका छन् भने सहसचिव पदमा शिला बज्राचार्य र युनेस राना मगर उम्मेदवार रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, सचिव महेन्द्र प्रधान, काँग्रेस सुनसरी जिल्ला सदस्य माधव घिसिङ, काँग्रेस पूर्व नगर सचिव एवं मेयरका स्वकीय सचिव राजेशमान श्रेष्ठ, वडा नं. १२ का बुथ सभापति सरोज भट्टराई लगायतले जितको शुभकामना दिएका थिए । नेपाली काँग्रेसको नगर अधिवेशन असोज ९ गते हुँदै छ ।