धरान : धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नेपालीहरूको महान् चाड बडा दसैँ, तिहार, छठ तथा नेपाल सम्बतको अवसरमा धरानवासी आमाबुबा, दिदीबहिनी र दाजुभाइ साथै देश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् ।

मेयर राईले एक शुभकामना सन्देश जारी गदै यस महत्त्वपूर्ण चाडको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण धरानवासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

पछिल्लो समय धरानमा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि सङ्क्रमण भने नरोकिएको मेयर राईले शुभकामना सन्देश मार्फत जनाएका छन् । मेयर राईले विश्वभरि नै महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) ले सृजना गरेको विषम परिस्थितिमा संयमता र सजकताका साथ सुरक्षित भई चाडपर्वलाई विकृतिको रूपमा नभई संस्कृतिको रूपमा आ–आफ्नो परिवारसँग बसेर मनाउन पनि अनुरोध गरेका छन् ।

‘उपमहानगरले लिएको तीव्र भौतिक पूर्वाधार विकास, आर्थिक, सामाजिक रूपान्तरण र सुशासन कायम गर्दै समृद्ध उपमहानगर निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने पनि शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

Subhakamana