चतरा : विजया दशमीको अवसरमा नेपाली काँग्रेस वराहक्षेत्र नगर कार्यसमितिले ११ वटै वडामा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। मङ्गलवार विजया दशमीको सातौँ दिन फूलपातीको अवसरमा ११ वडामा एकै दिन एकै समय सरसफाइ कार्यक्रम गरेको नेपाली काँग्रेस वराहक्षेत्रका उपसभापति युवराज श्रेष्ठले बताए।

वडा-वडा भएको सरसफाइ कार्यक्रमको संयोजकत्व वडा सभापतिहरूले गरेका थिए। मनोरञ्जन, खुसी, उमङ्गले भरिएको चाडपर्वमा सामाजिक कार्यबाट पनि थप खुसी बाढ्ने उद्देश्यले नगर समितिको बैठकको निर्णय बमोजिम सबै वडामा एकै दिन सरसफाइ कार्यक्रम गरिएको नेपाली काँग्रेस नगर सचिव समेत रहेका वडा नं २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए।

नगर समितिको नियमित कार्यक्रमको रूपमा रहेको सरसफाइ कार्यक्रम वडा नं १ कार्य समितिले औलिया मन्दिर परिषद्मा राखेको थियो। चाडपर्वलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान गर्ने उद्देश्य आयोजना भएको सरसफाइ कार्यक्रम नगर समितिले भने बमोजिम गरिएको वडा नं १ का सभापति ईश्वर थापाले बताए। वडा नं १ ले जस्तै वडा नं २ कार्य समितिले पनि सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। वडा नं २ ले पुरनवासको भित्र बाटो र मूल सडकमा सरसफाइ गरिएको सभापति अमर कटवालले बताए।

१ र २ को वडाले जस्तै ३ र ४ ले वडामा रहेका मन्दिर तथा सार्वजनिक स्थान, वडा नं ५ ले कालाबञ्जर बजार, ६ ले वडामा रहेका सार्वजनिक स्थल, वडा नं ७ ले सोमवारे बजार, वडा नं ८ ले असिलाल चौक, वडा नं ९ ले सार्वजनिक स्थल, वडा नं १० ले पार्टी कार्यालय परिसर र वडा नं ११ ले मधुबन बजार क्षेत्र सरसफाइ गरेको थियो।