धरान : आज दसैंको टीकाको दोस्रो दिन पापाङ्कुशा एकादशी ।

विजया दशमीको दिनमा टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्सीवाद ग्रहण गरिरहेका छन् । यसरी टिका ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।

दशैंमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सके सम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । यसरी टिका लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन सम्म चलिरहन्छ ।

पापाङ्कुशा एकादशी
आज शाश्वत सनातन धर्मावलम्बीहरू एवम् त्यस अन्तर्गतका वैष्णवहरूको महत्त्वपूर्ण दिन पापाङ्कुशा एकादशी ।

पौराणिक महाभारत कालको एक समयमा धर्मराज युधिष्ठिर प्रश्न गर्नुहुन्छ “ हे भगवान् ! आश्विन शुक्ल एकादशीको नाम के हो ? अब तपाईँ कृपा गरेर यसको विधि तथा फल भन्नुहोस् ।“ भगवान् श्रीकृष्णले भन्न लाग्नु भयो– हे युधिष्ठिर ! पापहरूको नाश गर्ने यस एकादशीको नाम पापाङ्कुशा एकादशी हो । हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भगवान् पद्मनाथको पूजा गर्नु पर्दछ ।

मनुष्यहरूलाई धेरै वर्षसम्म कठोर तपस्याबाट जो फल मिल्दछ, त्यो फल भगवान् गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन जान्छ ।

विष्णु भगवानका नामको कीर्तन मात्रले संसारका सबै तीर्थहरूका पुण्यको फल मिल्दछ । जो मनुष्य लक्ष्मी पति विष्णुको शरणमा जान्छन्, उनीहरूले कहिल्यै पनि नरकको यात्रा गर्नु पर्दैन ।

हे राजन ! जो मनुष्य वैष्णव भएर शैव एवम् शैव भएर वैष्णवको निन्दा गर्दछन्, उनीहरू अवश्य यस पापले नरकमा प्रवेश गर्दछन् । सहस्र अश्वमेध यज्ञहरूबाट जुन फल प्राप्त हुन्छ, त्यसको फल एकादशीको व्रतको सोह्रौँ भागको बराबर पनि हुँदैन ।

तीनैलोकमा एकादशीको व्रतको तुलनामा अरू कुनै पुण्य छैन । एकादशीको व्रत पश्चात् मात्र मनुष्य पापबाट मुक्त हुन सक्छ । आश्विन मासको शुक्ल पक्षको यस पापाङ्कुशा एकादशीको व्रत जो मनुष्यले गर्दछन्, तिनीहरू अन्त समयमा हरि लोक प्राप्त गर्दछन् तथा समस्त पापहरूबाट मुक्त हुन जान्छन् । श्रीकृष्ण भन्नु हुन्छ “हे राजेन्द्र ! यो एकादशी स्वर्ग, मोक्ष, आरोग्ययता, सुन्दर स्त्री तथा अन्न र धन दिने एकादशी हो ।

एकादशीको व्रत बराबरको फल अन्य दान पुण्य गर्दा प्राप्त हुँदैन । एकादशी व्रतका सामुन्ने गङ्गा, गया, काशी, कुरुक्षेत्र र पुष्कर पनि पुण्यवान् छैनन् ।

एकादशीको व्रत गर्नाले मनुष्यलाई सजिलै विष्णु पद प्राप्त हुन्छ भन्ने शास्त्रोक्त वचन रहेको छ । त्यसैले यस एकादशीले हाम्रा पापहरूलाई अङ्कुशले तानी छिनाएर फाल्ने भएकाले यसलाई पापाङ्कुशा भनिएको हो ।