धरान : बीपी प्रतिष्ठानमा उपचार गराई रहेका बिरामीलाई बेडमै पुर्जीको औषधि किनेर ल्याइदिने निहुँमा सम्पर्क बढाएर धरान बाहिरको नीजि अस्पतालमा उपचार गराउन लैजाने काम गर्ने गरेको आशंकामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका दिपक रामले बोकेको छालाको पर्सबाट विराटनगरको आर्या न्यूरो अस्पतालका दुई थान भिजिटिङ कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।
अन्य पक्राउ परेकाहरुका मोबाइल फोनको प्रारम्भिक परीक्षणमा विभिन्न सरकारी अस्पतालका बिरामीहरूको प्रेस्क्रिप्सन, डिस्चार्ज कागजातका फोटो,बिरामीहरूको नाम, रोग र उमेर सहितका विवरण अन्य व्यक्तिलाई पठाइएको रेकर्ड तथा एम्बुलेन्स चालकहरूको नाम र सम्पर्क नम्बर उल्लेख भएका कागजातका फोटोहरू फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिरामीको व्यक्तिगत विवरण संकलन सहित बरामद सामग्रीले प्रतिष्ठानको अस्पतालमा नीजि अस्पतालका एजेन्टहरु सक्रिय रहेको आशंका गरिएको छ । यसले उनिहरुको निजी अस्पतालसँगको सम्भावित समन्वयबारे थप अनुसन्धान गर्न महत्वपूर्ण आधार मिलेको प्रहरीले जनाएका छ ।
प्रहरीको यो सकृयता संघिय गृहमन्त्री सुधन गुरुङले प्रतिष्ठानको अनुगमन गरेर फर्के पछि बढेको हो । वीपीमा पहिले देखी औषधी पसल, नीजि अस्पतालका यस्ता एजेण्ट वार्डहरुमा विरामी कुरुवासंग सम्पर्क बढाएर सकृय थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिहीबार दुईवटा छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि भइरहेको गतिविधि विरुद्ध संयुक्त अभियान सञ्चालन गरी १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार मगलबार राति जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट घोपाको संयुक्त टोलीले पहिलो चरणमा १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान–१८ का २७ वर्षीय निखिल कुमार चौधरी, सप्तरी राजविराज–६ की २७ वर्षीया रबिना मण्डल, भोजपुर आमचोक–८ का २५ वर्षीय हस्त श्रेष्ठ, धरान–१५ का २० वर्षीय सागर पोखरेल, मोरङ लेटाङ–३ का २९ वर्षीय सानिन किराती, धरान–६ का २३ वर्षीय मनिष बुढाथोकी, उदयपुर चौदण्डीगढी–५ का ४० वर्षीय उपेश कुमार चौधरी, धरान–१७ का ३५ वर्षीय धीरज निरौला, इटहरी–२ का ३१ वर्षीय रोहित मेहता र धरान–११ का २८ वर्षीय बिनोद भट्टराई छन ।प्रहरीका अनुसार उनीहरूले उपचारका लागि आएका बिरामी तथा आफन्तलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रभावमा पार्ने प्रयास गरिरहेको सूचना पाएपछि निगरानी बढाइएको थियो ।
यसैबीच प्रहरीले दोस्रो विज्ञप्तिमा झापा दमक–१ कुमाल चोकका ४३ वर्षीय प्रविण पोखरेल र सुनसरी हरिनगर–४ का २७ वर्षीय दिपक रामलाई पनि प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट पक्राउ गरेको जनाएको छ ।
उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय सुनसरीबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय धरानबाट अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन ।
प्रहरीले उपचारका लागि आउने बिरामी तथा आफन्तलाई कुनै पनि अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।









































































