इटहरी : कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेस र नेकपा एमाले बिच खटपट देखिएको बेला कोसी सरकारमा समेत हलचल देखिएको छ । काँग्रेस केन्द्रीय समितिले एमालेसँगको गठबन्धन तोड्ने सङ्केत गरेसँगै काँग्रेस कोसी काँग्रेसले बिहीबार बिहान ११ बजे संयन्त्रको बैठक बोलाएको हो ।

काँग्रेस पार्टी कार्यालयमा प्रदेशको भावी रणनीति र एमालेसँगको समीकरण बारे छलफल हुने भएको छ । श्रोतका अनुसार एमालेका हिक्मत कुमार कार्की नेतृत्वकै सरकारको निरन्तरता हुनेगरी सहमति हुन लागेको हो ।

बजेट पास भएपछि नयाँ समीकरण बनाउन सकिने बारेमा छलफल हुने भएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्की नेतृत्वको सरकारले ल्याएको बजेट फेल गरेर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । सो प्रस्तावमा काँग्रेस सहमत नभएपछि बजेट पास भएपछि काँग्रेसको एमालेको संयुक्त सरकारले निरन्तरता पाउने बताइएको छ ।

यसबिचमा अन्य प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँगको तालमेलले समेत नयाँ समीकरण निर्भर हुने काँग्रेस नेताहरूले बताएका छन् ।