धरान : सर्वोच्च शिखर सगरमाथाको सफल आरोही पहिलो मारवाडी महिला धरानकी चेली प्रीति रातेरिया अग्रवाललाई धरान उपमहानगरपालिकाले सम्मान गरेको छ ।
उपमहानगरपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले अग्रवाललाई सम्मान गरेका हुन । यसअघि धरान प्रवेशद्वार तीनकुनेबाट उनलाई नगर परिक्रमा गराउँदै उपमहानगरपालिका ल्याएर सम्मान गरिएको हो । 
कार्यवाहक प्रमुख बेघाले प्रीति रातेरिया अग्रवाल धरानबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला भएको उल्लेख गर्दै भने ‘सम्भवतः धरानका लागि प्रीति नै पहिलो महिला सगरमाथा आरोही हुन ।  अन्य कुनै दस्ताबेज प्रमाण भेटिएको छैन र मैले पनि अरू कसैको बारेमा सुनेको छैन ।’
प्रीति धरानकी छोरी मात्र नभई नेपालकै गौरव भएको बताउँदै बेघाले यस्ता प्रतिभाको राज्यले उचित पहिचान र सम्मान गर्नुपर्ने बताए । पर्वतारोहणसँगै कला, मनोविज्ञान तथा वैकल्पिक उपचारको क्षेत्रमा उनले देखाएको बहु आयामिक योगदान युवा पुस्ताका लागि प्रेरणादायी रहेको उनको भनाई छ । 
सम्मानित प्रीति अग्रवालले उपमहानगरपालिकाबाट प्राप्त सम्मानले आफू अत्यन्तै खुसी भएको बताइन् । भनिन, ‘यो क्षण मैले कल्पना समेत गरेकी थिइनँ ।’ धरानले गरेको यो सम्मान कहिल्यै नबिर्सने उनले बताइन् ।
४० वर्षीय प्रीति रातेरिया अग्रवालले २०२६ मे २१ ९जेठ ७०गते बिहान ५ः५७ बजे विश्वको सर्वोच्च शिखर सगरमाथामा सफल आरोहण गरेकी हुन । उनका अनुसार बेस क्याम्पबाट शिखरसम्म पुग्न १२ घण्टा लागेको थियो भने शिखरमा करिब आधा घण्टा बिताएर सुरक्षित रूपमा फर्किन २४ घण्टा लागेको बताइन।
द समिट फोर्स प्रालिको व्यवस्थापनमा क्लाइम्बिङ गाइड पासाङ शेर्पा र निमा थिन्थक शेर्पाको साथमा सगरमाथा आरोहण गरेकी उनको सफलताले मारवाडी समुदायसँगै नेपाली पर्वतारोहण क्षेत्रमा नयाँ इतिहास रचेको छ ।
पछिल्ला तीन वर्षदेखि निरन्तर पर्वतारोहण अभ्यासमा रहेकी प्रीतिले यसअघि लोबुचे पूर्व, मेरा पिक, अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमन्जारो तथा विश्वको आठौँ अग्लो हिमाल मनास्लुको सफल आरोहण गरिसकेकी छन् । मनास्लु आरोहणसँगै उनी नेपालकी पहिलो मारवाडी महिला आरोही बनेकी थिइन ।
धरानमा जन्मिएर काठमाडौँमा शिक्षा हासिल गरेकी प्रीतिले हिमाल आरोहण आफ्नो बाल्यकाल देखिको सपना भएको बताइन्। परिवार तथा मारवाडी समुदायका महिलाको प्रेरणा र प्रोत्साहनले आफूलाई सगरमाथासम्म पुग्ने आत्मविश्वास दिएको उनको भनाई छ । 
सगरमाथाको शिखरमा उनले मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चको झण्डा फहराएकी उनले भनिन् ‘म प्राणिक हिलर, अर्हत योगीका रूपमा पनि पहिलो पटक सगरमाथाको शिखरमा पुगेको हुँ ।’
पर्वतारोहणसँगै उनी फाइन आर्ट्स तथा एप्लाइड आर्ट्समा स्नातक, जेमोलोजी ९रत्न विज्ञान० र काउन्सेलिङ साइकोलोजीमा पोस्ट ग्र्याजुएट डिप्लोमा हासिल गरेकी छन् । प्राणिक हिलिङका तीनै तह पूरा गरी प्रमाणित प्रशिक्षकका रूपमा विभिन्न शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवामा पनि सक्रिय छिन । 
कार्यक्रममा सहभागीहरूले अग्रवालको ऐतिहासिक उपलब्धिले धरान र नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइमा पुर्‍याएको उल्लेख गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए ।