धरान : नेपालका अन्तर्राष्ट्रिय लेजेन्ड बडिबिल्डर स्वर्गीय राज भगत प्रधानाङ्गको स्मृतिमा प्रथम कोशी प्रदेश ‘मिस्टर राज भगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप’ प्रतियोगिता आउँदो असोज १० र ११ हुने भएको छ ।
धरान फिटनेस क्लबद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा क्लब प्रमुख, स्वर्गीय प्रधानाङ्गका छोरा कुबेर भगत प्रधानाङ्गले उक्त जानकारी दिएका हुन् । प्रतियोगिता धरान–१८ बिपी प्रतिष्ठानको द साहारा हलमा हुने बताइएको छ । 
उक्त प्रतियोगिता गत: वर्ष नै आयोजना गरिने सार्वजनिक गरिएको थियो । तर जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिमा स्थगित गरिएको धरान फिटनेस प्रमुख प्रधानाङ्गले बताए । 
उनका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ६० देखि ७० जना बडिबिल्डरको सहभागी हुनेछन् ।प्रतियोगिता ५५ केजी,६० केजी, ६५ केजी,७० केजी र ७५ केजीमाथि गरी पाँच तौल समूहमा सञ्चालन हुनेछ ।
पहिलो दिन प्रिजजिङ राउन्ड सम्पन्न हुनेछ । त्यसबाट प्रत्येक तौल समूहका ५ वा ६ जना खेलाडी फाइनलका लागि छनोट हुनेछन् । दोस्रो दिन प्रत्येक तौल समूहका विजेता बिच ओभरअल उपाधिका लागि मुख्य प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको ओभरअल विजेताले ३ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँ पाउन छन् । तेस्रो हुनेले १ लाख, चौथो हुनेले ७५ हजार, पाँचौँ हुनेले ५० हजार र छैटौँ हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 
प्रत्येक तौल समूहका दोस्रो र तेस्रो स्थान प्राप्त खेलाडीले क्रमशः १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। बेस्ट पोजर र मोस्ट मस्कुलर विधाका विजेतालाई पनि जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
स्वर्गीय राज भगत प्रधानाङ्ग नेपालमा शारीरिक सुगठन प्रतियोगिताको विकास र व्यवसायीकरण गर्ने अग्रणी व्यक्तिका रूपमा परिचित छन् । उनले २०२७ सालदेखि धरानमा बडिबिल्डिङ अभ्यास सुरु गरेका थिए । २०३२ सालमा धरानमा पहिलो जिम स्थापना गरे । नेपालमै पहिलो पटक धरानबाट बडिबिल्डिङ प्रतियोगिता सुरु गर्ने श्रेय पनि उनलाई नै दिइन्छ ।
हाल उनका छोरा कुबेर भगत प्रधानाङ्गले पिताले सुरु गरेको व्यवसाय र खेललाई निरन्तरता दिँदै आएका छन्। उनले स्वर्गीय पिताको स्मृतिमा सुरु गरिएको हो । प्रदेश तहको प्रतियोगितालाई हरेक दुई–दुई वर्षमा संस्थागत रूपमा निरन्तर आयोजना गरिने उनले बताए ।