धरान : दुहबी-धरान ३३ केभी प्रसारण लाइनमा खराबी देखिएपछि अनुगमन तथा मर्मतका लागि गएका विद्युत प्राधिकरण धरानका २ जना कर्मचारीको हिजो सोमवार राती गाडी दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कोरपिओ चालक धरान–१३ का बिर्खबहादुर राई र धरान १६ का सुमन आचार्य भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुर्घटनामा घाइते धरान २० का पदम राईको उपचार भइरहेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी बीपी प्रतिष्ठान पुर्याएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राइका अनुसार धरानबाट इटहरी जाँदै गरेको बा १ ञ १६५१ को स्कोरपिओ आफैँ अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा स्कारपियो गाडी क्षतिग्रस्त भएको छ ।
धरान–इटहरी सडक खण्डको सेउती पुलबाट २ सय मिटर दक्षिणमा राति साढे ११ बजेतिर दुर्घटना भएको बताइएको छ । मृतकहरूलाई घाइते अवस्थामा साढे १२ बजे वीपी प्रतिषठान पुर्याइएको थियो ।
धरानका प्राधिकरण प्रमुख हरिराम पोखरेलका अनुसार दुहबी–धरान ३३ केभी लाइनमा समस्या देखिएपछि पेट्रोलिङ तथा मर्मतका लागि राति पौने १० बजे तिर कर्मचारी परिचालन गरिएको थियो ।








































































