धरान : बिपी प्रतिष्ठानमा स्वास्थ्योपचारका पुराना उपकरण थोत्रिँदै गएको गुनासो बढेको बेला नयाँ उपकरणहरू धमाधम खरिद हुन थालेको छ । 
बिपीमा  सबै भन्दा बडी खट्किएको एमआरआई मेसिन खरिद प्रक्रिया अघि बढाइएको प्रतिष्ठान प्रमुख डा.इन्द्र लिम्बुले बताएका छन् । त्यसको लागि टेण्डर आव्हान हुनु अगावै ५ वटा कम्पनीले प्रतिष्ठानलाई मेसिनको प्राविधिक विशेषताहरू प्रस्तुत गरेका छन् ।
यसअघि प्रतिष्ठानको डेण्टल हस्पिटलको लागि इएनटी रोगका लागि पनि उपयोगी हुने सीबीसीटी कोन बिम कम्पुटेड टोर्नोग्राफी मेसिन खरिद गरी जडान गरिसकेको प्रतिष्ठानले जनाएको छ ।
सीबीसीटी उपकरण जडान भएपछि प्रतिष्ठानको दन्त उपचार गुणस्तरीयता, विशिष्टीकृत सेवा सञ्चालनमा आएको प्रतिष्ठानव्दारासेवा शुल्कको सूचि सहित जारी सूचनामा जनाइएको छ ।  
नाक,कान, घाँटीको रोगका लागि पनि उपयोगी अत्याधुनिक सीसीबीटी प्रणाली डिजिटल इमेजिङ प्रविधिमा आधारित उच्चस्तरीय उपचार प्रणाली भएको बताइएको छ ।नयाँ प्रविधिले न्यून विकिरणमा उच्च स्पष्ट ३–डी थ्रिडी तस्बिर उपलब्ध गराउँछ ।
यो प्रविधिले विशेष गरी दाँत, मुख, च्यापु ओरल क्याक्सिलोफेसियल, नाक, कान, घाँटी सम्बन्धी रोगहरूको सटीक पहिचान, उपचार तथा शल्यक्रिया पूर्व इम्प्लान्ट योजना, मूल्याङ्कन र उपचार पछि अनुगमनलाई प्रभावकारी बनाउने अस्पताल सहायक निर्देशक डा.विजय श्रेष्ठद्वारा जारी विज्ञप्ति उल्लेख छ ।